संविधानले व्यवस्था गरेअनुसार खेलकुद परिषद गठन गर्न सुझाव
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा छलफल भएको छ ।
‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि जारी दफावार छलफलमा सोमबार राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा छलफल भएको हो । छलफलमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले संविधानले व्यवस्था गरेअनुसार परिषदमा ३३ प्रतिशत महिला सहितको समावेशी प्रतिनिधित्व हुनेगरि सुझाव दिन सांसदहरुलाई आग्रह गरे ।
सांसद जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकूद परिषदलाई देशव्यापी बनाउन प्रदेशमा खेलकुद हेर्ने मन्त्रीलाई परिषदमा ल्याउनुपर्ने बताए । ‘नीति निर्माण तहमा त्यही अनुसारको उचाई भएको व्यक्ति चाहिन्छ प्रदेश प्रमुखहरुसँग छलफल गर्न कार्यकारिणी समितिको परिकल्पना गरिएको छ । त्यसैले परिषदमा प्रदेशबाट मन्त्रीको सहभागिता हुनुपर्छ’, उनले भने ।
सांसद गगन थापाले संघमा राज्यमन्त्री र सहसचिव स्तरको व्यक्ति राख्ने तर प्रदेशबाट मन्त्रीको प्रतिनिधित्व हुने कुरा उपयुक्त नहुने बताए । समिती सभापति जयपुरी घर्तीले संविधान र संघीयताको मर्मअनुसार परिषद गठन हुनुपर्ने बताउँदै त्यही अनुसार छलफलमा धारणा राख्न सांसदहरुलाई आग्रह गरेकी थिईन् ।
Facebook Comment