संविधानमा लेखिएका कुरा कार्यान्वयनमा आउनुपर्छ

डिसी नेपाल
७ पुष २०७६ २२:०८

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरुले संविधानमा लेखिएका कुरा कार्यान्वयन आउनुपर्नेमा जोड दिएका छन् । ‘ख्रीष्टमस तथा नववर्ष २०२०’को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले संविधानमा लेखिएका कुरा कार्यान्वयनमा नआएका कारण विभिन्न जाति, भाषा, धर्म र संस्कृतिमा आस्था राख्नेहरुलाई कठिनाइ भएको बताए।

“आस्थाका आधारमा कसैलाई होच्याउन पाइँदैन,” अध्यक्ष नेपालीले भने, “सबै धर्मलाई सम्मान गर्नुपर्छ ।” विभेद् र विभिन्न हिसाबले पछाडि परेका धार्मिक, भाषिक र अल्पसङ्ख्यकको हितमा आगामी दिनमा संसद्मा आवाज उठाउने उनको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सत्तापक्षका सचेतक सीताकुमारी नेपालीले धर्मलाई विज्ञानसँग जोडेर जानुपर्नेमा जोड दिँदै संविधानको मर्मअनुसार मुलुकअघि बढ्नुपर्ने धारणा राखिन् । प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले शान्तिप्रिय नागरिक हुन पाउनु इसाई धर्मावलम्बीको नैसर्गिक अधिकार हो भनिन् ।

त्यसैगरी प्रदेशसभा सदस्यद्वय रातो कामी र पद्मका खड्काले एकले अर्को धर्मलाई सम्मान गरी आपसी एकता कायम गरे मात्र मुलुकको विकास र समृद्धिमा सहयोग पुग्ने औँल्याए । प्रदेशसभा सदस्य दानसिंह परियारले व्यक्तिको धर्म भए पनि राज्यको धर्म नहुने तर्क गर्दै समाजमा भएको अन्याय, असमानता र विभेद्का विरुद्ध आफूले बोल्दै आएको बताए । कार्यक्रममा डा बालकृष्ण शर्मा र इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरेले धर्म, धर्मनिरपेक्षता, त्यसको विश्वव्यापी मान्यता, संविधानको मूल मर्म, देवानी फौजदारी हिता र लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्यमा इसाइहरुले भोग्नुपरेका समस्याका बारेमा बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *