आध्यात्मिक जागरणलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसँग जोड्नुपर्ने बताएका छन्। पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा आयोजित महाआरती कार्यक्रममा सहभागी बन्दै उनले यस्ता कार्यक्रमले समाजमा भावनात्मक एकता एवं सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्राकृतिक सम्पदानको प्रचारप्रसार र प्रवद्र्धनका लागि गण्डकी प्रदेश प्रतिबद्ध रहेको बताउँदै उनले पोखराको समग्र विकास एवं पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। पोखरा र आसपासका क्षेत्रका धार्मिक शक्तिपीठहरुमा आरती कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औल्याउँदै मुख्मन्त्री गुरुङले मुलुकमा दिगो शान्ति कायम गर्दै समृद्धको अभियानमा अघि बढनुपर्ने धारणा राखे।
गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाबाट भएको आम्दानीले यसको संरक्षण संवद्र्धनका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालन गरेको जानकारी दिए । गुफा व्यवस्थापन समितिका सचिव हरि लम्सालका अनुसार गुफा परिसरमा २०७६ साल वैशाखको अक्षयतृतीय तिथिदेखि प्रत्यक सोमबार धार्मिक विधिपूर्वक आरती गर्दै आएको बताए ।
Facebook Comment