झारखण्डमा भाजपाको सत्ता खुस्कियो, कांग्रेस गठबन्धनलाई बहुमत
काठमाडौँ । भारतको झारखण्ड राज्यमा भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनाता पार्टी (भाजपा) ले नराम्रो पराजय भोगेको छ । निर्वाचनमा नराम्रो पराजयसँगै झारखण्डमा भाजपाको सत्ता पनि फुत्किएको छ ।
८१ सिट भएको झारखण्डमा भाजपाले जम्मा २५ सिट मात्रै जितेको छ ।
झारखण्डका ८१ सिटमध्ये कांग्रेस र झारखंड मुक्ति मोर्चाको गठबन्धनले ४७ सिट जितेर बहुमत प्राप्त गरेको छ । अन्य दलले ९ सिटमा विजयी प्राप्त गरेका छन् ।
यसअघि सन् २०१४ सालको निर्वाचनमा ३७ सिट जितेको भाजपाले यो २०१९ को निर्वाचनमा १२ सिट गुमाएको हो ।
२०१४ पछि यो राज्यमा भाजपाले सरकार चलाउँदै आएको थियो ।
४ जना मन्त्री पराजित
झारखण्डका मूख्य मन्त्री रघुवरसहित ४ जना मन्त्री पराजित भएका छन् । झारखण्ड प्रदेशमा मन्त्रीहरु लुइस मरांडी, राज पालीवार, रामचन्द्र सहिस पराजित भएका हुन् ।
भाजपाद्वारा हार स्वीकार
भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड मुक्ति मोर्चा र उनको गठबन्धनलाई बधाई दिँदै शुभकामना दिएका छन्।
उनले ट्वीट गर्दै आफ्नो दललाई ‘सेवा गर्न दिएकोमा झारखण्डका जनतालाई धन्यवाद’ दिए।
भाजपा अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले पनि जनादेशको सम्मान गर्ने बताएका छन्।
उनले ट्वीट गर्दै भनेका छन्, ‘भाजपालाई पाँच वर्षसम्म प्रदेशको सेवा गर्ने जो अवसर दिइएको थियो, त्यसको निम्ति हामी जनताप्रति आभार व्यक्त गर्छौँ।’
Facebook Comment