उपप्रधानमन्त्री यादवको बन्द खामभित्रको प्रस्तावमा के थियो?

डिसी नेपाल
८ पुष २०७६ १३:३४

काठमाडौं। मन्त्रिपरिषदको बैठक सकिन लाग्दा खल्तीबाट एउटा बन्द खाम फुत्त निकालेर आफ्नो एउटा बेग्लै प्रस्ताव बाँकी भएको बताएपछि उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादवले गैरराजनीतिक व्यवहार देखाएको भन्दै बैठकमै प्रधानमन्त्री केपी ओली आक्रोशित बने। आखिर यादवको बन्द खामभित्रको प्रस्ताव के थियो त?

प्रधानमन्त्री केपी ओलीले खामभित्रको प्रस्ताव खोल्ने अवसर उपप्रधानमन्त्री यादवलाई दिएनन्। तर, त्यो प्रस्तावमा संविधान संशोधनको विषय छ भनेर मात्रै पनि उपेन्द्र यादव चुप लागेनन्। उनले आफ्नो प्रस्तावमा कानुन मन्त्रालय र अन्य विज्ञहरुसमेत राखेर संविधान संशोधनका लागि एउटा विशेष कार्यदल बनाउनु पर्ने आफ्नो प्रस्तावको निचोड रहेको जानकारी प्रधानमन्त्री र मन्त्रिपरिषद बैठकलाई गराएका थिए।

सहकार्य नगर्ने त्यसबाट बाहिरै बस्नेहरुले मात्र उठाउने कुरा तपाईँ उपप्रधानमन्त्री भएको मान्छेले मन्त्रिपरिषदमा उठाउने?’ भनी यादवलाई झपारेका थिए

उनले पहिलो चरणमा कार्यदल गठन सम्बन्धि नीतिगत निर्णय गराउन चाहेका थिए। कानुन मन्त्रालयका कुनै पनि उच्च अधिकारीसँग सल्लाह बिना ठाडो प्रस्तावका रुपमा मन्त्रिपरिषदमा राखेपनि प्रधानमन्त्री ओलीले संविधान संशोधन जस्तो गम्भीर विषय एउटा मन्त्रीको ठाडो प्रस्तावको रुपमा मन्त्रिपरिषदको बैठकमा पेश हुनै नसक्ने भन्दै खारेज गरिदिएका थिए।

साँझ पाँच बजेदेखि बसेको मन्त्रिपरिषद बैठकको अन्त्यतिर साँढे सातबजे उपप्रधानमन्त्री यादवको यस्तो प्रस्ताव आएपछि प्रधानमन्त्री ओलीले ‘सहकार्य नगर्ने र त्यसबाट बाहिरै बस्नेहरुले मात्र उठाउने कुरा तपाईँ उपप्रधानमन्त्री भएको मान्छेले मन्त्रिपरिषदमा उठाउने?’ भनी यादवलाई झपारेका थिए।

प्रधानमन्त्रीले यस्ता कुरा कहाँ गर्ने कतिखेर गर्ने भन्ने कुरा बुझ्न र गम्भीर विषय पार्टी टु पार्टी छलफल गरेपछि मात्रै अगाडि बढ्न कुरा बुझ्न यादवलाई सचेत गराएका थिए।
बिमारी भई कमजोर बनेका प्रधानमन्त्री ओली यसरी पड्किएपछि उपेन्द्र यादवले मन्त्रिपरिषदको बैठकमा थप कुनै भनाइ राखेनन्।

स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सरुवा भएपछि भएका दुई वटा मन्त्रिपरिषदका बैठकमा यादव सहभागी भएनन्। नयाँ मन्त्रालयमा गएपछि उनको यो पहिलो मन्त्रिपरिषदको बैठक थियो। प्रधानमन्त्रीसँगको यो तिक्ततापछि सत्तामा बसिरहन यादवलाई नैतिक संकट परे पछि समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *