सम्झना भण्डारी : संघर्ष बुझेकी गायिका
काठमाडौं। त्यतिबेला पशुपति शर्मा अत्याधिक रुचाइएका गायक भइसकेका थिए । लोक संगीत क्षेत्रमा ठूलै ख्याती कमाइसकेका कलाकार पनि पशुपतिसँग गाउन लालायित हुन्थे । त्यतिखेर संगीत क्षेत्रमा पहिचान बनाउन संघर्ष गरिरहेकी सम्झना भण्डारीको पनि सपना थियो पशुपतिसँग गाउने । सपना त थियो तर सजिलै पूरा होला भन्ने उनलाई लागेको थिएन ।
त्यो दिन सम्भवतः उनले नसोचेको घटना भयो- उनलाई पशुपतिको फोन आयो, त्यो पनि साथमा गाउने अफरसहित । त्यो दिन सम्झनामा खुसीको सीमा रहेन। खुसी नहुन् पनि कसरी? पशुपतिसँग गाउने पहिल्यैदेखिको ठूलो सपना थियो, उनकै भनाईमा त्यो दिन एउटा सपना पूरा हुँदै थियो।
‘गीत रेकर्डिङका लागि मालश्री स्टुडियो आउ है’ पशुपति बोलेसँगै सम्झना खुसीले गद्गद थिइन्। आहा! मैले उहाँसँग गीत गाउन पाउने भएँ। उहाँसँग गीत गाउने सपना पूरा हुने भयो। उनले यस्तै सोचिन्।
स्टुडियो पुगिन्, गीत गाइन्- ‘मेरो माया बसेको ठाउँमा , बत्ती बाल्दै पर्दैन त्यो गाउँमा…’
केही दिनअघि दरबारमार्गको एक रेष्टुरेण्टमा डिसी नेपालसँग सम्झनाले त्यो पल यसरी सम्झिन –‘दाईसँग गाउन पाउनु नै ठूलो कुरा थियो। रेकर्ड भएपछि गीत कस्तो होला? स्रोता दर्शकले रुचाउनुहुन्छ कि हुँदैन? भन्दा पनि उहाँसँग गाउन पाएकोमै खुसी भएँ।’
‘सम्झनाको स्वर राम्रो छ’ भन्दै उनका नजिकका व्यक्तिहरुले पशुपतिसँग कुरा गरेका रहेछन्। त्यसपछि पुशपतिले आफै फोन गरेर सम्झनालाई गीत गाउन स्टुडियो बोलाएका थिए। रेकर्डपछि पशुपतिले पनि सम्झनाको स्वर रुचाए। ‘हाइ स्केलमा गाउने रहेछ। आवाज मिल्यो। रेन्ज मिल्यो’– प्रतिक्रिया दिए।
सो तीज गीत भिडियोसहित सार्वजनिक भयो। स्रोता/दर्शकले अत्याधिक रुचाए। त्यसअघि सम्झनाको ‘तोरी भएछ’ बोलको गीत सार्वजनिक भएको थियो। तर, पशुपतिसँगको यस गीतले उनलाई ठूलो मासमा चिनायो। एक हिसाबले भन्नुपर्दा सम्झनाको सांगीतिक करिअरको ‘टर्निङ प्वाइन्ट’ नै बनिदियो। त्यसयता उनको ब्यस्तता पनि दिन प्रतिदिन बढ्दै गयो। उनका एकपछि अर्को गीत स्रोता/दर्शकले रुचाउँदै गए।
सम्झना लमजुङको सिमपानेमा जन्मिएकी हुन्। उनमा सानैदेखि गायनप्रति रुचि थियो। बिमाकुमारी दुरा सोही जिल्लाकी गायिका। उनीसंगै राजु परियार, पशुपति शर्मा, शिरीष देवकोटा लगायतका गीत सुन्थिन्। गुनगुनाउँथिन्।
उनलाई किशोरावस्थामा पशुपति र शिरीष अत्याधिक मन पर्थे रे! त्यसैले त पहिलोपटक पशुपतिसँग गीत गाउँदा सपना पूरा भएको सम्झिइन्। शिरीषसँग पनि सम्झनाले गीत गाएकी छिन्, –‘छोरो अमेरिका छ’।
उनी स्कूलमा हुने गायन कार्यक्रममा भाग लिन्थिन्। अन्य स्कूलहरुमा गीत गाउन गएर कैयौंपटक प्रथम, द्वितीय भएकी छिन्।
गीतसंगीतसंग नजिक बनाएको रेडियो कार्यक्रमले पनि हो। जिल्लाको मर्स्याङ्दी एफएममा शुक्रबार र शनिबार ४ बजेपछि ‘लोक मञ्जरी’ कार्यक्रम प्रसारण हुन्थ्यो। त्यो फोन इन कार्यक्रम थियो। स्रोताले फोन गरेर मन परेको गीत सुन्न पाउने र साथीहरुलाई सम्झने।
सम्झना सम्झँदै बोलिन् –‘त्यो कार्यक्रममा म अति फोन गर्ने, सिडिएमए फोन हुन्थ्यो। कहिले त्योबाट त, धेरैपटक ममीको फोन चोरेर फोन गरेकी छु।’
उनको रुचिमा ममीको सधै साथ रह्यो। भन्छिन्, –‘गाउँमा कतै मादल बजेको छ भने छोरी गइदिए हुन्थ्यो। गाइदिए, नाचिदिए हुन्थ्यो भन्ने ममीको सोच थियो। त्यस्तो ठाउँमा ममीले सँगै लिएर जानुहुन्थ्यो।’
कक्षा ७ मा पढ्दा लमजुङ लोकतारा प्रतियोगिता हुने भयो। ममीको सपोर्ट रहेपनि भाइले रोक्थे। त्यसैले उनी कौसीको झ्यालबाट भागेर प्रतियोगितामा भाग लिएकी थिइन्। ‘भाइको अरू भन्दा पनि कार्यक्रममा गएपछि दिदी बिग्रिन्छे कि भन्ने बुझाइ हुँदो हो’– भाइले गीत गाउन जान नदिनुको अनुमान लगाउँछिन्।
विसं २०७० सालमा सम्झना काठमाडौं आइन्। यहाँ आएपछि उनका संघर्षका कठोर दिन सुरु भए। केही समय कान्तिपुर मलमा जागिर गरिन्। त्यसपछि दोहोरी साँझको यात्रा तय गरिन्। कुलेन्द्र विक, राजन ठकुरी, शिव हमाल, स्व. मञ्जु महतले पुतलीसडकमा सञ्चालन गरेको बागलुङ कालिका दोहोरी साँझमा गीत गाउन थालिन्।
त्यत्तिकैमा लोकगीतमा धेरैले अभिभावक भन्ने पृथ्वी थकालीले सम्झनालाई भोकल क्लास जान सुझाए। त्यसपछि मनोजराज शिवाकोटीसँग पुतलीसडकमा रहेको मुर्छुन्ना संगीत विद्यालयमा साढे दुई वर्ष संगीत सिकिन्। त्यो समय सम्झिन्छिन्, ‘राति अबेरसम्म दोहोरी साँझमा काम गर्थे। बिहान ६ बजे संगीत क्लास जानुपर्थ्यो। निद्रा पुग्दैनथ्यो। माईक्रोमा झुल्दै, ठोक्किँदै संगीत क्लास पुग्थेँ।’
केही समयपछि पुतलिसडकको त्यो दोहोरी साँझ बन्द भयो। सम्झना गामबेशी दोहोरी साँझमा गाउन पुगिन्। त्यसपछि पनि चन्दन श्रेष्ठसँग गान्दर्ध्वमा संगीतका थप ज्ञान सिकिन।
शिव हमालसंगको सहकार्यमा दशैं तिहार गीत रेकर्ड गरिन्। अडियो सार्वजनिक भयो। भिडियो बनेन। त्यसपछि उनै पृथ्वी थकालीको सपोर्टमा सम्झनाले पहिलो गीत ‘तोरी भएछ’ गाइन्। भन्छिन्, –‘यो गीत सुन्नेहरुले सांगीतिक बजारमा नयाँ आवाज आएछ भनेर नोटिस गर्नुभयो।’
त्यसपछि हो सम्झनाले पशुपतिसँग ‘बत्ती बाल्नै पर्दैन’ गाएको। त्यो गीतलाई स्रोता दर्शकले रुचाएपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसपछिका कुशल बेलबासेसँग ‘माली गाइले बाच्छी चाटेको’, रमेशराज भट्टराईसँग पञ्जेबाजा गीत ‘कहिले हो त सानु’, पशुपतिसँगै गाएको तीज गीत ‘स्याङ्जा जाने बाटोमा तनहुँ’, उनीसँगैको ‘कान्छी बुहारी’, ‘क्यार्न माया मारिछौं’, खेम सेञ्चुरीसँगको ‘औंठी बेरुवाको’, ‘कपलु कोरेर’ लगायतका गीतलाई स्रोता दर्शकले रुचाए। पशुपति र सम्झनाको सहकार्य पनि निरन्तर रह्यो।
सम्झना आफ्ना केही गीतको भिडियोमा पनि अभिनय गरेकी छिन्। भन्छिन्, –‘अहिले युट्युबको जमाना छ। विदेशतिर कार्यक्रममा जाँदा कतिपयमा गीतमा जो नाच्यो उसैले गाएको भन्ने भान हुँदोरहेछ। तर नसुहाउने गीतमा भने अभिनय गर्दिन।’
उनले हालसम्म २ सय बढी गीतमा स्वर दिएकी छिन्। देश विदेशका कार्यक्रममा ब्यस्तता पनि बढ्दो छ। यो स्थानसम्म आउन उनले कठोर संघर्ष गरेकी छिन्, साधना गरेकी छिन्। उनकै अनुभवले भन्छ,–‘सफलतामा पुग्न संघर्ष र साधना गर्नैपर्छ।’
अबको चुनौती आफ्नो यो स्थानलाई जोगाइराख्नु छ। उनी गम्भिर सुनिइन्, –‘यहाँसम्म आउन धेरै संघर्ष गरें। अहिलेको संगीत बजार कति खर्चिलो छ, बुझ्नुभएकै छ। तर, म निरन्तर संघर्ष गर्दै अगाडि बढ्नेछु।’
Facebook Comment