बल्ल उठ्दै नोर्बुलिङ

डिसी नेपाल
८ पुष २०७६ १३:१०

नोर्बुलिङ (हेलम्बु)। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्बुलिङमा दुई वर्ष अघि नै भूकम्पले भत्काएको बस्ती ठड्याउने योजना थियो। त्यो बेला जग्गा खारेर तयारी गरे पनि रकमको जोहो गर्ने कयौँ प्रयास असफल हुँदा योजना त्यसै तुहियो।

जिल्लाका विभिन्न क्षेत्रमा दाताले घर बनाइदिएको सुनेका यहाँका लाभग्राहीले कुनै दाता पाइहालिन्छ कि भनेर बाटो कुर्न भने छाडेनन्। पटकपटक ताकेता पनि भयो। चरोमुसो नआएपछि नयाँ घर बनाएर बस्ने उनीहरुको सपना पर धकेलियो। उनीहरुले प्रयास रोकेनन्। सहयोगका हात फैलाइरहे।

पहाडको टुप्पोमा रहेको बस्तीको आवाज पहाडमै ठोक्किएर विलायो। कहीँबाट सहयोग जुटेन। हुन पनि सदरमुकाम चौताराबाट पश्चिममा पर्ने यो बस्ती निकै विकटमा छ। चौताराबाट तीन घण्टामा मेलम्ची पुगिन्छ। त्यसपछि मेलम्ची–तिम्बुु शेर्माथाङ सडक हुँदै यहाँ पुगिन्छ। विकटमा जो कोही हत्तपत्त पुग्दैनन्।

प्रयासले साकार रुप नलिएपछि ऋण खोजेरै बस्ती उठाउन लाभग्राही आफैँ कम्मर कसे। “सहयोग खोज्दाखोज्दै वर्ष बित्यो, कति रोइकराइ गर्नु, ऋण खोजेरै भए पनि घर उठाउँ भनेर काम थाल्यौँ”, नोर्बुलिङ एकीकृत बस्ती विकास समितिका सहसचिव जीवन लामाले बताए।

सङ्घसंस्थाको सहयोग पाएको जिल्लाको गिरानचौर, झ्याडीको माझी बस्ती र सेलाङको तामाङ एकीकृत बस्ती पुरानो भइसक्यो। दाता नपाएका यस्ता बस्ती अझै पुनःनिर्माणको चरणमा छ।

जनधनको ठूलो क्षति हुने गरी मुलुकमा पछिल्लो पटक भूकम्प गएको साढे चार वर्षपछि भत्किएको नोर्बुलिङ, बल्ल उठ्दैछ। नजिकका अन्य बस्ती पनि यसैगरी उठ्ने चरणमा छन् । बस्ती नबन्दासम्म उनीहरु अस्थायी टहरामै बस्न बाध्य छन्। स्थानीयको आफ्नै प्रयासले छोटो समयमै धेरै घर निर्माणको अन्तिम चरणमा पुगेको छ, केही आधाआधी बनेको छ भने केही जग खन्ने चरणमा छन्।

गत भदौ ११ गतेबाट नोर्बुलिङ एकीकृत बस्तीमा निर्माणको काम थालिएको थियो। जसले जे काम जानेको छ, उसले त्यही गर्ने गरी कामको बाँडफाँट भयो। डकर्मी दिलबहादुर सुनार र कृष्ण थापालगायत गाह्रो लगाउन खटिए। हीरालाल मगर तलबाट ढुङ्गा दिन थाले।

बालुवा र गिट्टी ओसार्ने र घोल्ने अलगअलग समूह बन्यो। ढुङ्गा फोर्ने र ओसार्न समूह अर्कै खडा भयो। फलामलाई निश्चित आकारमा ढाल्ने काममा पनि छुट्टै समूहले जिम्मा पाए। यन्त्र नै प्रयोग गरेर दुई जना ढुङ्गा काट्न खटिए। यो दैनिकी अहिले पनि जारी नै छ। बस्ती पुग्दा गाउँले बस्ती ठड्याउन रातदिन नभनी लागिरहेका थिए।

स्थानीयको जागरुकताले चार महिना नसकिँदै बस्तीमा नसोचेको प्रगति छ। झ्याल ढोकामा काठ प्रयोग गरेर ढुङ्गा, माटोको गाह्रो र सिमेन्टको जडान गरी घर बनाइएको छ। घरमा शौचालय र अन्य तीन कोठा छ। “बाहिरबाट मान्छे ल्यायो वर्षौं काम सकिँदैन, त्यसैले आफैँ काम गर्दैछौँ, स्थानीय पाराकै घर बनाइरहेका छौँ”, स्थानीय नोर्बु लामाले भने।

यहाँको एकीकृत बस्तीका लागि पुनःनिर्माण प्राधिकरणबाट आउने तीनलाख मात्रै प्रमुख आधार हो । त्यो पनि अहिलेसम्म पहिलो किस्ता मात्रै पूरा प्राप्त भएको छ। यहाँका ३१ घरमध्ये दोस्रो किस्ता जम्मा नौ घरले मात्रै पाएको छ। अन्यको प्रक्रियामा छ।

शुरुमा ४० घर बस्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको थियो। रातो कार्ड प्राप्त रु तीन लाख पाउने ३१ घर छ। नौ घरले गुनासो गरे पनि अहिलेसम्म कुनै निर्णय भएको छैन। कूल १८ रोपनी क्षेत्रफलभित्र हरेक घर छ आनामा बन्दैछ। लाभग्राहीले गोला प्रथाद्वारा घर रोजेका छन्। दलित समुदायको रोजाइअनुसार पाँच घर पुछारमा दिइएको छ।

निर्माण सम्पन्न हुँदा झण्डै रु १३ लाख लाग्ने अनुमान गरिएको नोर्बुलिङ एकीकृत बस्ती विकास समितिका सहसचिव जीवन लामाले बताए। सरकारको रु तीन लाख र गाउँमै पाइने ढुङ्गा, माटो र श्रमदानको हिसाब नगरे पनि लाखौँ ऋणको भारी बोक्दैछन् उनीहरु। प्रभावित ऋणको बोझ कम गर्न धेरै काम आफैंँले गरिरहेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकका असिष्टेन्ट शव इञ्जिनीयर मिलन ढुङ्गाना खर्कडाँडाको नोर्बुलिङ एकीकृत बस्तीमा जोखिम भनेर पहिचान गरिएको गिजेको ११ घर पनि समावेश रहेको बताउँछन्। छिमेक गाउँ खर्क, कोलामा, च्युगाञ्चे, पासासाका भूकम्प प्रभावित पनि एकीकृत बस्तीमा ल्याइएको उनले बताए।

आगामी माघसम्ममा सक्ने योजना उनीहरुको छ। गएको भदौ ११ गतेबाट बस्तीको काम थालिएको हो । बस्तीका लागि जग्गा प्लटिङ भने दुई वर्ष अघि नै गरिएको थियो। सरकारको रु तीन लाख र श्रमदानबाहेक बाँकी ऋणमा घर बनिरहेको छ। प्रति घर एक जना अनिवार्य श्रम गर्नुपर्छ।

दुईवर्ष अघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि सामुदायिक आत्मनिर्भर केन्द्रले रु दुई लाख दिएको थियो। जोखिम बस्तीबाट आएका व्यक्तिलाई सरकारले दिनुपर्ने रु दुई लाखसमेत नपाएको गुनासो उनीहरुले गरेका छन्।

डकर्मी दिलबहादुर सुनारले ६० दिन काम गरेर कमाएको रु ६० हजार घरकै लागि लगानी गरेको बताए। घर सरेपछि जमिन लिएर सामूहिक आयआर्जन कार्यक्रम सञ्चालन गर्ने सोच उनीहरुको छ।

नेपालको सबैभन्दा बढी लाभग्राही भएको जिल्ला सिन्धुपाल्चोक हो । जिल्लामा ८८ हजार लाभग्राहीमा ८६ हजारले पहिलो किस्ता लिइसकेका छन्। कूल ९५ प्रतिशतले दोस्रो किस्ता लिइसकेको छन्।

जिल्लामा ७७ हजारले तेस्रो किस्ता लिएको र समग्रमा ९० प्रतिशत पुनःनिर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकका प्रमुुख सन्तोष निरौलाले बताए। उनका अनुसार जिल्लाका विभिन्न ३० ठाउँमा एकीकृत बस्ती निर्माण शुरु भएकोमा केही निर्माण सम्पन्न भएको केही निर्माणको चरणमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *