सिद्धान्त छाड्दा पछारिएको कांग्रेस
नेपालमा बि.सं. २००४ सालदेखिको राजनीतिक इतिहासलाई अध्ययन गर्ने हो भने मुलुकले धेरै राजनीतिक दल र ती दलबाट प्रधानमन्त्री पाइसक्यो। त्यतिमात्रै होइन मुलुकले धेरै राजनीतिक व्यवस्था परिवर्तनलाई समेत आत्मसात गरेको छ। योसँगै धेरै राजनीतिक दलको विग्रहसमेत मुलुकले व्यहोरेको छ। २०३३, ०३६, ०४६, ०६२/६३ का आन्दोलन र बीच बीचमा कम्युनिष्ट आन्दोलनहरु जे जति भए, यी सबै मुलुकले व्यहोरेको छ।
तर नेपालमा कमै मात्र राजनीतिक दल टिकेका छन्। टंकप्रसाद आचार्यले पनि राजनीतिक दल बनाए। त्यो दल अहिले कहाँ छ? रामराजाप्रसाद सिंहले पनि राजनीतिक दल बनाए, अहिले त्यो कहाँ छ? अहिलेसम्म निरन्तर टिकेका दल र इतिहासको गर्भमा हराएका दलको इतिहास हेर्दा राजनीतिक दलले राजनीतिक संगठन बनाएर मात्र राजनीतिक दल टिक्ने रहेनछ भन्ने बुझ्न सकिन्छ।
इतिहासले देखाइसकेको छ –राजनीतिक दल टिक्नलाई र राजनीतिक दलको निरन्तरताका लागि राजनीतिक दलको दर्शन आवश्यक पर्नेरहेछ। त्यो भयो भने मात्र दल निरन्तर रहन सक्ने र एक दिन जनताको विश्वास जितेर सरकारमा पुग्ने हुँदोरहेछ। दर्शन र सिद्धान्त विनाको राजनीतिक दल लामो समय टिक्ने रहेनछ।
हिजो बाबुराम भट्टराईले बनाएको दल न राजनीतिक दल रह्यो, अहिले रबीन्द्र मिश्रले बनाएको राजनीतिक दल पनि दल हुने छाँटकाँट देखिएको छैन। उपेन्द्र यादवको दल पनि राजनीतिक दल रहने देखिँदैन। नेपालमा दल रहनका लागि नेपाली जनताले दर्शन र सिद्धान्त हेर्छन भन्ने कुरा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले सिद्ध गरेका छन्।
कांग्रेसको नेतृत्व निष्ठावान नेता सुशील कोइरालाको हातमा थियो। उहाँले जस्तोसुकै विषम परिस्थितिमा पनि कांग्रेसलाई सिद्धान्तबाट विचलित हुन दिनुभएन। लाभका लागि सिद्धान्तसँग सम्झौता नगरेकै कारण उहाँको नेतृत्व हुँदासम्म कांग्रेस जनताबाट अनुमोदित थियो।
यसो भन्दै गर्दा अहिले नेपाली कांग्रेस दर्शनबाट सिद्धान्तबाट बिचलित भएर गुट उपगुटमा विभाजित हुँदै पद र पावरको राजनीतिका लागि आ–आफ्नो गुट बोकेर आफ्ना मान्छे भनेर पद भागवण्डाको राजनीतिक गर्दैछ। यसैगरी दर्शनबाट कांग्रेस बिचलित बन्यो भने उसले कहिल्यै अब नेपाली जनताबाट अनुमोदित भएर सत्तामा पुग्ला भन्न सकिँदैन।
अहिलेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता, शक्ति र पद अनि आफन्तको जागिरका लागि जस्तो जोसकै र जस्तोसुकै सहमति गर्न तयार देखिनु भयो। हिजो सीमित पदमा बाबुराम भट्टराई, उपेद्र यादव, प्रचण्डसँग तालमेल पनि गरे। त्यसको परिणाम स्वरुप आज निकै सानो संख्या लिएर कांग्रेस संसदमा प्रतिपक्ष विहीन जस्तो बन्न पुगेको छ।
पछिल्लो समय नेपालमा माओवादी बर्खे भेलसरी आएको थियो। २०६४ को संविधानसभा निर्वाचनमा उसले प्रत्यक्षतर्फ एक्लै बहुमत पनि ल्याएको हो। तर २०७० को अर्को संविधानसभा निर्वाचनसम्म आइपुग्दा उसको हैसियत फेरि खस्कियो। अहिलेसम्म आइपुग्दा ऊ अर्को कम्युनिष्ट पार्टीसँग मिलेर आफ्नो अस्तित्व नै विलय गरिसकेको छ। यसले के देखाउँछ भने एक पटक कुनै पनि दलले जनताबाट परीक्षण हुने अवसर पाउँछन् तर जनताको त्यो विश्वस बचाइराख्न नसकेमा उसको अस्तित्व धरापमा पर्न सक्छ।
माओवादीको आकस्मिक उदयपछि पनि २०७० को निर्वाचनमा कांग्रेसले सम्मानजनक कमब्याक गरेको थियो। यो कांग्रेसको सिद्धान्त र आदर्शको परिणाम थियो। त्यतिबेला कांग्रेसको नेतृत्व निष्ठावान नेता सुशील कोइरालाको हातमा थियो। उहाँले जस्तोसुकै विषम परिस्थितिमा पनि कांग्रेसलाई सिद्धान्तबाट विचलित हुन दिनुभएन। लाभका लागि सिद्धान्तसँग सम्झौता नगरेकै कारण उहाँको नेतृत्व हुँदासम्म कांग्रेस जनताबाट अनुमोदित थियो।
तर, जब सुशील कोइराला रहनुभएन त्यसपछि कांग्रेसभित्र सिद्धान्तमाथि लाभका लागि गरिने सम्झौता हावी भयो। सिद्धान्त विस्तापित हुँदै स्वार्थ हावी भएलगत्तै कांग्रेसले जनमत पनि गुमायो। अहिले सानो आकारमा खुम्चिएर संसदमा निरीह प्रतिपक्ष भएर बसेको छ। यो पार्टीको स्थापित सामान्य सिद्धान्तबाट बिमुख हुँदा आएको परिणाम हो।
छिमेकी भारतमा नेहरुले तय गरेको दर्शनको आधारमा कांग्रेसको राजनीतिलाई परिमार्जित कांग्रेस आई दर्शन र सिद्धान्त अखण्ड भारत र भारतीय जनता आधुनिक भारतका लागि जवाहरलाल नेहरु र इन्दिरा गान्धीले जुन दर्शन र सिद्धान्तमा आधारित संगठन बनाएर आए, त्यसको निरन्तरता रहँदासम्म कांग्रेसलाई कसैले पनि जनताबाट अलिकति पनि पछाडि धकेल्न सकेनन्। जब विदेशी महिला विवाह गरेर गृहस्थ जीवन बिताइरहेका एक जना पाइलटको थाप्लोमा कांग्रेस आईको नेतृत्व र मुलुकको बागडोर हातपर्यो त्यसपछि भारतमा राजनीतिक विचलन सुरु भयो।
त्यो राजनीतिक विचलनको परिणाम एउटा दर्शन र सिद्धान्त बोकेर बसेको लामो समयदेखि खारिएका, माझिएका नेता भएको पार्टी भारतीय जनता पार्टीले मौका पायो। बिजेपीले मोदी पायो, मोदीले बिजेपी पाए र बिजेपीले दुई पटक निर्वाचन जितेर मोदीले बहुमतको सरकार चलाइरहेको हाम्रा सामु छर्लंग छ। आज भारतको त्यत्रो आन्दोलन मोदीको एउटा भाषणले वा मोदीमाथिको विश्वासले आन्दोलन सामसुम हुन पुगेको छ।
यता नेपालमा नेपाली कांग्रेसभित्र जे भइरहेको छ, त्यो दूर्भाग्यपूर्ण हो। यस्तो किसिमको राजनीति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले नत्यागेसम्म र दर्शन र सिद्धान्तको राजनीति र संगठन बोकेर अगाडि नबढेसम्म कांग्रेसको हैसियत सुध्रिने अपेक्षा गर्न सकिन्न। अब कांग्रेसले फेरि दर्शन र सिद्धान्तसहितको संगठन बोकेर अगाडि जानु र त्यसको परिणाम पर्खिनु सबैभन्दा बुद्धिमानी हुनेछ।
कांग्रेसका नेता पद, पावर र पैसाका लागि गुट उपगुट बनाएर भागबण्डाका लागि लड्ने र पदका लागि राजनीति गर्ने हो भने कांग्रेस सकिन समय लाग्दैन।
आफूसँग मुलुकको अहिलेको परिस्थिति सुहाउँदो भिजन भए पुरानो सिद्धान्तलाई परिमार्जित गर्ने, नभए नेपाली कांग्रेसको आधारभूत सिद्धान्तलाई निरन्तरता दिएर जनताका गास बास कपास, मुलुकको भूअखण्डता र मित्रराष्ट्रसँगको पञ्चशीलको सिद्धान्त अनुसार कांग्रेसले देश र जनताको रक्षा र हित गर्ने गरी जुन बिपी कोइरालाले बनाएको कांग्रेसको आधारभूत सिद्धान्तलाई निरन्तरता दिन र सशक्त रुपमा नेतृत्व लिन र अगाडि जान नसके कम्युनिष्टहरुले यही किसिमले जनतालाई त्रास र भयमा बाँधेर मुलुकलाई दोहन गरिरहने छन्। यसबाट मुलुकलाई जोगाउन सक्ने शक्ति कांग्रेसमात्रै हो। यी कुरा बुझ्दा बुझ्दै पनि कांग्रेसका नेता पद, पावर र पैसाका लागि गुट उपगुट बनाएर भागबण्डाका लागि लड्ने र पदका लागि राजनीति गर्ने हो भने कांग्रेस सकिन समय लाग्दैन।
हुन त नेकपा पनि दर्शन र सिद्धान्तमा छैन। स्वार्थमा छ। विभिन्न दर्शनका मानिसहरुलाई समेटेर दुई तिहाइ बहुमत पुर्याएर राज्यसत्ता कब्जा गरेको छ। तर त्यो परिमार्जित भएर संगठित भएर लामो संघर्षबाट आएर राज्यसत्ता हत्याएको भए टिक्न सक्ने हुन्थ्यो होला। तर त्यो नभएर भारतीय नाकाबन्दी र राष्ट्रवादको नारामा ओलीको भनाइलाई विश्वास गरेर दिएको भोट र माओवादीसँगको एकता गर्न ओलीले गरेको निर्णयलाई समर्थन गरेर जनताले भोट दिए।
जनताको आकांक्षा अनुसार काम गर्न नसकेको हुनाले नेकपाले पनि यो मुलुकलाई निरन्तर नेतृत्व दिन सक्ने देखिँदैन। त्यस्तो अवस्थामा कांग्रेसले आफ्नो आधारभूत सिद्धान्तलाई निरन्तरता दिन र स्वार्थ त्याग्न अनि देश र जनताको हितमा केही गरौं भन्ने जाँगरसहित जनताको विश्वास जित्न अगाडि बढ्ने हो भने आउने दिन कांग्रेसकै राजनीतिमा मुलुक देखिन्छ।
अहिलेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता,शक्ति,पद अनि आफन्तको जागिरका लागि जे-जस्तो सुकै सहमती गर्न तयार देखिनु भयो हरेक मुद्दा हरुमा उहाँको सम्लग्नता तथा मौनता द्र्खियो । काङ्रेस खुम्चिनुको मुख्यकारण यहि हो !