भ्रमण वर्षका लागि ८० संगठनहरुसँग प्रत्यक्ष संवाद गरिने

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामुदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उनले बताए ।
मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए । मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनहरुलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागि गराउन पनि आग्रह गरेका छन् ।
पाँच तारे होटलहरुमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उनले होमस्टेहरुमा बास बस्नका लागि मात्रै नभएर स्थानीय उत्पादनलाई टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताए । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comment