विविधता, बहुलता र लैङ्गिक समानता सामुदायिक प्रसारणमा महिला सहभागिता

डिसी नेपाल
८ पुष २०७६ २१:२८

धादिङ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले महिला र बालबालिकाको पक्षमा सामुदायिक रेडियोहरुले आवाज उठाउनुपर्ने बताइन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोराव)द्वारा आयोजित ‘विविधता, बहुलता, र लैङ्गिक समानता सामुदायिक प्रसारणमा महिला सहभागिता’ विषयक राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले बालविवाह अझै नहटेको र महिलामाथि हुने हिंसा अन्त्य नभएको भन्दै संविधानमा उल्लेख भएको अधिकार व्यवहारमा लागू गर्न पत्रकारले विषयवस्तु उठान गर्नुपर्ने बताइन् ।

सामुदायिक रेडियोहरुको योगदानको प्रशंसा गर्दै उनले महिलाका आवाज र समानताका पक्षमा यस किसिमका कार्यक्रमले योगदान गर्ने बताइन् । महिलाको योगदान र भूमिकाले समृद्ध नेपाल र सुखी नेपाली नारालाई सार्थक पार्ने उनको भनाइ थियो ।

नेपालको कानून र नीति अझै महिलामैत्री नभएकाले यसको परिवर्तन अत्यावश्क रहेको उपाध्यक्ष दाहालको भनाइ थियो । महिला र पुरुषबीच श्रम, रोजगार, विवाह तथा अन्य सामाजिक चलनमा अझै विभेद् नहटेको उनले बताइन् ।

एकोरावका अध्यक्ष सुवास खतिवडाले ७० भन्दा बढी भाषामा सामुदायिक रेडियोहरुले समाचार प्रसारण भइरहेको र समुदायको आवाज बनेको बताए । सामुदायिक रेडियोहरुले महिलाको मुद्दा केके उठाइरहेका छन् र महिलाको पक्षमा सामुदायिक रेडियोले उठाउनुपर्ने विषयवस्तु उठे कि उठेनन् भन्ने कुरा हेर्नुपर्ने खतिवडाले बताए ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले परिवर्तन आफैँले शुरु गर्नुपर्ने औँल्याउँदै समानताका विषय व्यवहारमा लागू गर्नुपर्ने बताए । धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सामुदायिक रेडियोले स्थानीय सरकारलाई सघाइरहेको बताउँदै सरकार र सामुदायिक रेडियोको सम्बन्ध नङ र मासुको जस्तै रहेको धारणा व्यक्त गरे।

महिला अधिकारकर्मी लिली थापाले महिलाको योगदानको कदर नभएकाले त्यसतर्फ महिला पत्रकार सक्रिय रहन आग्रह गरिन । धादिङ गल्छी गाउँपालिका–६ मा दुई दिनसम्म चल्ने राष्ट्रिय परामर्श कार्यक्रमले महिलाका सवाल पहिचान गर्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *