सर्लाहीमा आगलागीबाट साढे २ लाखभन्दा बढीको क्षति
सर्लाही । सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ।
आगलागीबाट बैठाको पसलमा रहेको रु ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको हो।
आगो के कति कारणले लागेको हो त्यो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
त्यस्तै कौडेना गाउँपालिका–५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब रु ८० हजार बराबरको क्षति भएको छ।
कुन्यूमा कसरी आगलागी भयो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ।
यसैबीच मङ्सिर १९ गते घर जलेर घरबारविहीन बनेका हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ।
हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गरेका छन् । विद्युत चुहिएर आगलागी हुँदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो।
घर जलेपछि उनी परिवारसहित सोही वडामा रहेको सन्तानेश्वर प्राथमिक विद्यालयमा बस्दै आएका छन् ।
नगरपालिकाले रु एक लाख घर बनाउन प्रदान गर्ने जनाएको छ।
Facebook Comment