‘प्रसाद’ निर्देशक दिनेश भन्छन्, –‘कन्सेप्ट मन परेकै कारण ‘सेल्फी किङ्ग’को निर्माता भएँ’
काठमाडौं। अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको चलचित्र हो, ‘सेल्फी किङ्ग’। यसमा उनि शिर्ष भूमिकामा छन्।
हरेक चलचित्रमा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन् रुचाउने विपिन यसमा कमेडियनको रुपमा प्रस्तुत भएका छन्। उनले कमेडी कलाकारको जीवनमा आउने उतारचढावलाई आफू मार्फत प्रस्तुत गरेका छन्। ‘सेल्फी किङ्ग’नामले परिचित उनै हाँस्यकलाकार(टेलिभिजन)ले कलायात्राको दौरानमा आफूले पाएको सफलता र व्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ।
कमेडियनले गर्ने कमेडी देखेर त दर्शक हाँस्छन, तर उसको मनभित्र कति पिडा हुन्छ? वा कस्तो स्थितिमा पनि उसले आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने परिस्थितिलाई पनि यसमा समेटिएको छ।
गतवर्षको सफल चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ्ग’ निर्माण गरेका हुन्। निर्देशक राउत यसमा निर्माताको भूमिकामा मात्र छन्। ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन्। उनको यो निर्देशकीय डेब्यू चलचित्र हो।
‘प्रसाद’ अघि पनि ‘आईएम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ जस्ता चलचित्र निर्देशक गरेका दिनेश अहिले किन निर्माणमा आए? उनी भन्छन्, ‘चलचित्रको कन्सेप्ट मन परेकै कारण निर्माणमा आए।’ उनले कमेडी गर्ने कलाकारभित्रको पीडा र उसको परिस्थितिले दर्शकको मन छुने विश्वास ब्यक्त गरे।
चलचित्रमा विपनका साथमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतको अभिनय छ।अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’बोलको गीतमा अभिनय गरेकी छिन्। जुन गीत केही दिनअघि सार्वजनिक गरिएको थियो।
चलचित्र माघ २४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।
Facebook Comment