प्रदीप खड्का : टेलिभिजन प्रस्तोता बन्ने हुटहुटीले डोर्याएको सिनेमा यात्रा
काठमाडौं। नेपाली सिनेमामा केही अभिनेता छन्। जसको नामले दर्शकलाई हलसम्म तान्छ। अझ भनौं सुरुवाती व्यापारमा ती नामको अर्थ रहन्छ।
प्रदीप खड्का तिनै अभिनेता भित्रमा पर्छन्। उनी अहिले ‘प्रेम गीत ३’ को छायांकनमा ब्यस्त छन्। मनाङमा माइनसमा झरेको तापक्रममा यो सिनेमाको धमाधम छायांकन भैरहेको छ। उनको नेपाली सिनेमामा लोभलाग्दो क्रेज छ। चकलेटी लुक्सका प्रदीपको फ्यान फलोइङ पनि उस्तै छ। प्रदीप नेपालका लोकप्रिय र महंगा अभिनेता मानिन्छन्।
प्रदीपको चर्चा ‘प्रेम गीत’बाट चुलिएको हो। त्यसअघिका कुराहरु धेरैलाई जानकारी नहुन सक्छ। त्यसअघि पनि प्रदीपले सिनेमा निर्माण गरेका थिए। अभिनय पनि गरिसकेका थिए। तर, दुवै सिनेमा फ्लप भएका थिए।
ललितपुरको एकान्तकुनामा जन्मिएका प्रदीपलाई शुरुवातमा टिभीमा देखिने हुटहुटी थियो। उनी टेलिभिजन प्रस्तोता बन्न चाहन्थे, हिरो हुने महत्वाकांक्षा जन्मिएकै थिएन । ‘प्लस टु’ सकेर अमेरिका अप्लाई गरेका थिए। भिषा रिजेक्ट भयो। साथीहरु ब्याचलर भर्ना भएका थिए। भर्नाको समय सकियो। प्रदीप खाली थिए। त्यही समयमा उनी टेलिभिजन प्रस्तोता बन्न खोजेका थिए।
त्यसमा रुचि लाग्नुको पनि कारण छ। उनी कक्षा ७ मा पढ्दै गर्दा टेलिभिजनको स्क्रिनमा देखिने अवसर पाएका थिए। ‘नेपाल वान’ टेलिभिजनमा आउने ‘भुराभुरीको हल्लाखल्ला’मा एक चकचके बालकको क्यारेक्टरमा कार्यक्रम चलाउन मौका पाए। हाँस्दै बालापनको त्यो उमेर सम्झन्छन् –‘म स्कूलकै चकचके विद्यार्थी थिएँ। शिक्षकहरूकै सिफारिसमा त्यो कार्यक्रम चलाउने मौका पाएको थिएँ।’
त्यसपछि विवाहमा जाँदा आफ्नो उमेरका केही साथीहरु उनीसंग फोटो खिच्न आए। उनलाई लाग्यो, मैले नचिन्दा पनि मलाई चिन्दारहेछन्। कार्यक्रम चलाउनु त बडो गज्जब पो रहेछ! त्यसपछि हो उनलाई टेलिभिजन प्रस्तोता बन्ने रुचि लागेको। ‘प्लस टु’ सकेपछि टेलिभिजन प्रस्तोता बन्ने चक्करमा रियालिटी शो ‘खोजी प्रतिभाको’को प्रोडक्सन टीममा पनि काम गरे। त्यो समय उनले बुझे कार्यक्रम चलाउन त समय किन्नुपर्दो रहेछ। अनि कसैले प्रस्तोता नबनाएपछि आफ्नै नाममा कम्पनी दर्ता गरे, प्रदीप मिडिया।
उनलाई मोडलिङका लागि अफर आयो। प्रस्तोता बन्ने रहर थियो, त्यो नपाएपछि मोडलिङ गरे, २ वटा भिडियोमा। चर्चा भएन। लाग्यो, कतै भिडियो नै राम्रो बनेनन् कि! अनि आफै भिडियो निर्देशन गरे। त्यत्तिकैमा कसैले कपाल पाल्न लगाए, हिरो खेलाउने आश्वासनमा। हिरो बन्ने चक्करमा कपाल पाले, वर्षदिन त्यसै बिताए तर आश्वासन आशामै सीमित रह्यो, फिल्म बनेन।
त्यो वर्षदिनमा उनले सिनेमा शूटिङको बारेमा भने बुझ्ने मौका पाए। अनि आफैले सिनेमा बनाउने सोच बनाए। आफ्नो ३० प्रतिशत लगानीमा बन्ने त्यो सिनेमामा उनी आफैँ हिरो बन्ने भनिएको थियो । ‘ठूलो मान्छे’ नामको त्यो सिनेमामा उनको क्यारेक्टर पनि मिलेन त्यसमाथि उनी नाच्न नजान्ने भएपछि हिरो भने बनेनन् ।
आफू हिरो बन्न नमिल्ने भएपछि कोरियोग्राफर प्रशान्त तामाङलाई हिरो बनाइयो। अभिनेत्री केकी अधिकारी हिरोइन बनिन्। सिनेमा फ्लप भयो । हलबाट लगानी नउठाएपनि बाल मनोविज्ञानमा आधारित भएकाले ’च्यारिटी शो’बाट केही पैसा उठायो। यसले प्रदीपलाई थोरै भए पनि राहत भयो ।
हिरो भन्ने रहर जागिसकेको थियो त्यसैले आफैलाई मिल्ने क्यारेक्टरको कथामा अर्को फिल्म लेखे । आफैले लेखेको सिनेमा ‘स्केप’मा लगानी गरे, हिरो बने । हिरोइन थिइन् रीमा विश्वकर्मा। बजारका भित्तामा पोष्टर टाँसियो। सिनेमा प्रदर्शनमा आयो। तर दुर्भाग्य, यो सिनेमा पनि फ्लप भयो। प्रदीप त्यो पल सुनाउँछन्, –‘सिनेमा नचलेपनि हिरो त बनेँ, सहरका भित्तामा आफ्नो फोटो त टाँसियो। आफूले आफूलाई हलमा हेर्न त पाएँ। त्यसमै चित्त बुझाएँ।’
त्यतिबेलासम्मा प्रदीपले सिनेमाको चक्करमा चार–पाँच वर्ष बिताए। सिनेमाले उनको लामै समय सक्यो तर पढाइ भने छोडेका थिएनन् । पढाइमा तेज उनले बीबीए गरे। एमबीए पनि सके।
परिवारबाट पैसा मागेर सिनेमा बनाएका कारण परिवारमा चिन्ता भने थियो। पढाई सकिन लाग्दा सिनेमामा लागेर छोराले कतै करिअर त बर्बाद बनाउँदैन? परिवार चिन्तित थियो। उनी आफैले पनि सोँचे, – हिरो हुने चक्करमा लागेँ भने पैसामात्र होइन, मेरो करिअर नै बर्बाद हुन्छ।
अनि अस्ट्रेलियाका लागि अप्लाई गरे। डकुमेन्टेसनको काम सकिनै लागेको थियो, त्यही बेला देशमा अचानक भूकम्प गयो। भूकम्प गएपछि बैंकले घरको भ्यालूएसन रोक्यो र लोन पास भएन। त्यसपछि अस्ट्रेलिया जाने प्लान तत्कालका लागि क्यान्सिल भयो। अनि प्रदीप फुर्सदमा भए।
पत्रिका पढ्दै थिए। एउटा पत्रिकामा ‘प्रेमगीत’को अडिसनबारे समाचार देखे। छनोट हुन्छु भन्ने कल्पनै थिएन्। तैपनि अप्लाई गरे। ‘पछि विदेश नै जाने हो। अहिले प्रोसेस रोकिएको समयमा सिनेमा गरौं भनेर गरेको थिएँ,’ प्रदीप भन्छन्, –‘सिनेमाका लागि छनोट भएँ। अभिनय गरेँ।’
सिनेमाबाट प्रदीपले त्यत्ति धेरै अपेक्षा पनि राखेका थिएनन्। तर, सिनेमा प्रदर्शनमा आएपछि प्रदीप अचम्मित भए। सिनेमा हेर्न दर्शक उर्लिए। प्रदीपको चर्चा एकाएक चुलियो। २०७२ सालको भूकम्पले देशका थुप्रै भौतिक संरचनाहरू ढले। तर प्रदीपको सिनेमा करिअर माथि उठ्यो। यसरी भूकम्प उनका लागि अवसर बनिदियो।
त्यसयता प्रदीपका ‘प्रेमगीत २’, ‘लिलिबिली’, ‘रोज’ हुँदै ‘लभ स्टेशन’ प्रदर्शनमा आइसकेका छन्। प्रेमगितको दोस्रो सिक्वेल पनि सुपरहिट भएकोले छायांकनरत ‘प्रेमगीत ३’बाट समेत ठूलो आशा लिएका छन्। यो सिनेमा चैतको २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।
अमेरिका र अस्ट्रेलिया सपना बीचमै रोकिएर नेपालमै रहेका उनले अब भने नेपाली सिनेमामै भविष्य देखेका छन्। ‘दर्शकको यति धेरै माया पाईरहेको छु’ उनी सुनाउँछन्–‘अब योभन्दा अर्को क्षेत्रमा भविष्य बनाउँछु भन्नु मात्र पनि मेरो मूर्खता हुन्छ।’
Facebook Comment