खोरमा परेर चितुवा नियन्त्रण

डिसी नेपाल
१० पुष २०७६ १०:५०

दमौली। तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ। चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो।

उक्त पोथी चितुवा छ/सात वर्षको र ३०/३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिनेछ।

चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ। भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ। भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ। भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको आतङ्क बढ्न थालेको स्थानीयवासी बताउँछन्।

भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ। भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेको छ। त्यस्तै केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *