आशा भोसलेको ५ दिने नेपाल बसाईको सेड्यूलः आज राष्ट्रपतिसँग भेटघाट, रेडियो नेपालमा रिहर्सल

डिसी नेपाल
१० पुष २०७६ ११:०३

काठमाडौं। भारतीय चर्चित गायिका आशा भोसले काठमाडौंमा छिन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनी बुधबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। कला केन्द्रले आफ्नो ३० औं वार्षिकोत्सवका अवसरमा आशालाई नेपाल बोलाएको हो।

उनले २८ डिसेम्बर अर्थात यही शनिबार काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुती दिनेछिन्। संगीतकार रञ्जित गजमेरको संगीतमा भोसलेले गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। त्यहाँ संगीतकार रञ्जित गजमेर र गायिका आशा भोस्लेलाई सम्मान गरिनेछ।

यसअघि एक पटक नेपाल आएकी उनको सांगीतिक प्रस्तुति भने यो नै पहिलो हुनेछ। शनिबारको सांगीतिक कार्यक्रममा उनलाई नेपालका तीन दर्जन बढी कलाकारले साथ दिनेछन्।

पाँच दिने नेपाल यात्रामा आएकी आशाले नेपालका केही स्थानको भ्रमण समेत गर्नेछिन्। बिहीबार गायिका भोसलेले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितलनिवासमा शिष्टाचार भेटघाट गर्ने कला केन्द्रका संस्थापक मोक्तानले डिसी नेपाललाई बताए।

‘उहाँलाई आज बिहान पशुपति दर्शनका लागि लैजाने कुरा थियो। तर, ग्रहणका कारण भोलि बिहानमात्र पशुपति जान्छौं’ उनले भने, –‘आज दिउँसो २ बजे राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाटका लागि समय मिलाएका छौं। त्यसपछि रेडियो नेपालमा रिहर्सलका लागि लैजानेछौं।’

त्यस्तै भोलि अर्थात शुक्रबार बिहान पशुपतिको दर्शन पश्चात दिउँसो १ बजेदेखि भारतीय राजदूतावासमा लञ्चको कार्यक्रम रहेको मोक्तानले बताए। आशा शनिबार सांगीतिक कार्यक्रममा सहभागी हुनेछिन्। त्यसपछि पोखरा, मुक्तिनाथ, लुम्बिनी लगायतको भ्रमण गर्नेछिन्। ३० तारिखमा भोस्ले भारत फर्फिनेछिन्।

८० वर्षीय भोस्लेको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हाल्यो’, ‘मोहनी लाग्ला है’, ‘किन बढ्दै छ ढुकढुकी मुटु’को लगायतका दर्जनौं नेपाली गीत कालजयी छन्। भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्। गजमेर थुप्रै नेपाली र हिन्दी फिल्मका चर्चित संगीतकार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *