पीपीएलः बुटवललाई फाइनल पुग्न १६६ रनको लक्ष्य
पोखरा। पोखरा प्रिमियर लिग (पीपीएल) को इलिमिनेटर खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
उसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ५४ बलमा २ छक्का र ६ चौकाको मद्दतमा ६१ रन बनाए । कप्तान प्रदीप ऐरीले आज शानदार ब्याटिङ गरे । उनले १३ बलमा ४ छक्का र १ चौकाको मद्दतमा अविजित ३३ रन बनाए।
यस्तै मोहम्मद जैद आलमले २०, लोकेश बम, पुनित र मेहेराले १९–१९ रनको योगदान दिए । बलिङमा बुटवलका हर्ष टंकले २, ललितसिंह भण्डारी र अविनाश बोहराले एकएक विकेट लिए ।
आजको विजेता टिमले उपाधिका लागि शनिबार चितवन राईनोजसँग भिड्ने छ । लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो ।
बुटवल लिग चरणको एक खेल अगाडि नै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भइसकेको थियो । तेस्रो स्थानमा रहँदै विराटनगर छनोट हुँदा नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन प्रतियोगिताबाट बाहिरिन पुग्यो । लिग चरणमा प्रदीप ऐरी नेतृत्वको विराटनगरले पोखरा पल्टन र बुटवललाई पराजित गर्न सफल रह्यो ।
Facebook Comment