लागुऔषधसहित तीन युवक पक्राउ

डिसी नेपाल
१२ पुष २०७६ १३:१०

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स १० प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरहाको लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट लागुऔषध फेनारगन २ सय ५४ पिस, डाइजील्याप २ सय ५५ पिस र नोफिन २ सय ५२ पिस बरामद् भएको सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिम्लिसिनाले जानकारी दिए । प्रतिबन्धित लागुऔषधसहित शुक्रबार साँझ पनि सिरहा प्रहरीको टोलीले जिल्लाको नरहा गाउँपालिका ४ निवासी २६ वर्षीय मोहमद एमामुदिन र सिरहा नगरपालिका ४ रमौल निवासी १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स ५ प ५०७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७ सय २० पिस र रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७ सय ६५ पिस ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *