आकर्षक पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

डिसी नेपाल
१२ पुष २०७६ १३:५१

बुटवल। बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केबुलकार सञ्चालनका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि वन क्षेत्र परेको र आयोजनाको क्षमता थप गर्नुपर्न भएकाले वन मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गरेको हो ।

ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सिद्धार्थ केबुलकार प्राइभेट लिमिटेडले केबुलकार सञ्चालनको प्रक्रिया थालेको हो । पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भएपछि केबुलकार जाने बाटोमा पर्ने एक हजार २०० रूख काटिने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले जानकारी दिए ।

यसअघि वन मन्त्रालयको स्वीकृतिमा पहिलो चरणमा बटम स्टेशनका ३८ वटा रूख काटिएको थियो । “२ वर्षभित्र सञ्चाल गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ, पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि अब काम अघि बढ्छ”, उनले भने ।

पहिलो चरणमा ९९ जना स्थानीय व्यवसायीले रु ८० करोड लगानी गरी प्रक्रिया थलिएको उनले बताए । केबुलकारका लागि ६ दशमलब ०९८ हेक्टर जग्गा प्रस्ताव गरिएको थियो । फूलबारीदेखि तल्लो स्टेशन देउरालीडाँडासम्म जाने पाँच सय मिटर बाटो तथा पार्किङका लागि २ दशमलव ८८ हेक्टर जग्गा प्रस्ताव गरिएको थियो । आगामी पाँच महिनाभित्र रूख कटानको काम सकिने अध्यक्ष गुरुङले बताए ।

फूलबारीदेखि उत्तर पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने सो केबुलकारको लम्बाइ दुई किमी हुने छ । बुटवल–नुवाकोट केबुलकारका लागि सिद्धार्थ केबुलकार प्रालिले डीपीआरसमेत सम्पन्न गरिसकेको छ ।

केबुलकार सञ्चालनका मन्त्रिपरिषद् बैठकले अनुमति दिने निर्णय गरेको थियो । त्यसलगत्तै वन तथा भूसंरक्षण विभाग र सिद्धार्थ केबुलकार प्रालिका बीचमा सम्झौता भएको थियो । केबुलकारमा एक पटकमा आठजनासम्म बस्न मिल्ने २२ वटा गुन्डोला(डब्बा) रहनेछन् । एक घण्टामा पाँच सय जना व्यक्ति ओसारपसार गर्नसक्ने केबुलकार छनोटका लागि विभिन्न कम्पनीको दररेट र गुणस्तर अध्यनन गर्ने काम भइरहेको प्रालिले जनाएको छ ।

केबुलकार सञ्चालनपछि लुम्बिनी आउने आन्तारिक एवं बाह्य पर्यटकहरु सजिलै नुवाकोटसम्म पुग्ने केबुलकार प्रालिका सञ्चालक माधव नेपालले बताए । “बुटवलको अत्यधिक गर्मी मौसममा होस् वा अत्यधिक जाडो मौसममा नुवाकोटको मौसम अनुकूल रहेको हुन्छ । मौसमको यही महत्वपूर्ण अनुकूलताकै कारण पनि नुवाकोटमा पर्यटकीय आकर्षण बढेको छ, नुवाकोट विकास समितिका अध्यक्षसमेत रहनुभएका नेपालले भने, “यही कारण पनि व्यवसायीहरु लगानी गर्न हौसिएका हुन् ।”

बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा रहेको नुवाकोटमा गर्मी छल्न र वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेपछि यहाँ पर्यटनको सम्भावना देखेर यस क्षेत्रका व्यवसायीहरुले लगानी गरेका हुन् । नुवाकोटको पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ५ सरकारले सांस्कृतिक डबली निर्माण गर्दैछ । यो वर्ष डीपीआर पूरा गरी काम शुरु हुनेछ ।

नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजय प्राप्त गरेको महत्वपूर्ण ऐतिहासिक किल्लासमेत रहेकाले केबुलकार सञ्चालनपछि यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने सिद्धार्थ केबुलकार प्रालिका सञ्चालक पीएल श्रेष्ठको भनाइ छ ।

नेपाल–अङ्ग्रेज युद्धमा नेपाली वीरहरुले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतमबुद्धका पिता शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका लागि नुवाकोट प्रसिद्ध छ । बुटवलको फूलबारीदेखि तीन किलोमिटरको पैदलयात्रामा पनि यहाँ पुग्न सकिन्छ । मणिमुकुन्द सेन उद्यान नजिकैबाट नेपाली सेनाको सहयोगमा यहाँ पुग्ने ट्रेकिङ रुट निर्माण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *