वडा कार्यालय भवन निर्माण

डिसी नेपाल
१२ पुष २०७६ १६:३८

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पाँच वटा वडा कार्यालय भवन युरोपियन शैलीमा निर्माण गरिएका छन् । नगरपालिकाले रु एक करोड बढीको लागतमा युरोपियन शैलीका अत्याधुनिक भूकम्प प्रतिरोधी भवन निर्माणको कार्य पूरा गरेको हो । “आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रियामार्फत पाँचवटै वडा कार्यालय भवन निर्माणको कार्य शुरु गरेका थियौँ”, नगरप्रमुख कर्णबहादुर हमालले भने, “चालू आवमा भवन निर्माणको कार्य पूरा भएको छ ।” निर्माण भएका वडा नं १, ३, ४, ५ र ७ का वडा कार्यालय भवन युरोपियन शैलीमा निर्माण गरिएको उनले बताए ।

निर्माण कार्य पूरा भएका वडा कार्यालयका भवनमा सभाकक्ष, कार्यालय प्रयोजनका कक्ष, जनप्रतिनिधिका लागि अलग्गै कक्ष, सुविधा सम्पन्न शौचालय, स्नान कक्षलगायत रहेका छन् । दुईतले भवनमा आठ कोठा छन् । भवनमै सवारीसाधन पार्किङस्थल निर्माण गरिएको छ । नगरप्रमुख हमालले भने, “भाडाका घरमा प्रयाप्त कोठा नहुँदा कार्यालय सञ्चालन गर्न अप्ठरो त छदै थियो । सेवाग्राहीलाई सेवा दिनसमेत कठिन थियो । नयाँ भवन निर्माणसँगै कार्यालयको समस्या हटेको छ ।”

भवन निर्माणले सर्वसाधारणलाई सेवा सुविधा सहज रुपमा दिन सकिने उनको भनाइ रहेको छ । चालू आवमा बाँकी चार वटा वडा कार्यालय भवन निर्माणको कार्य अगाडि बढाइएको छ । वडा नं २, ६, ८ र ९ को निर्माण कार्यका लागि ठेक्का भई भवन निर्माणको कार्य शुरु गरिएको छ । भवन निर्माणका लागि रु एक करोड बढीको ठेक्का भए पनि पहिलो चरणमा प्रत्येक भवनका लागि रु २३ लाख रकम प्रदान गरिएको छ ।

भवन निर्माणका लागि आवश्यक अन्य रकम सङ्घीय सरकारबाट प्राप्त कोषको रकमबाट व्यहोरिने नगरप्रमुख हमालको भनाइ छ । अत्याधुनिक आर्कषक शैलिका वडा कार्यालय भवन निर्माण गर्ने नगरपालिका जिल्लामै पहिलो कृष्णपुर भएको छ । वडा कार्यालय भवनसँगै अत्याधुनिक शैलीको नगरपालिका कार्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । रु तीन करोड बढीको लागतमा निर्माण भई रहेको नगरपालिका कार्यालय सुविधा सम्पन्न रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *