ब्रिजवाटर कपको उपाधि सैनिकलाई
काठमाडौं । सैनिक आवसीय महाविद्यालयले प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा सानो थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा सैनिकले साइपाल एकेडेमीलाई ३–० गोलले पराजित गर्यो ।
उपाधिसंगै सैनिकले १ लाख नगद पुरस्कार पायो भने साइपालले ५० हजार चित्त बुझायो । सैनिकका विश्रान्त बस्नेत फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । विश्रान्तनै उत्कृष्ट डिफेन्डर पनि चुनिए ।
व्यक्तिगत विधाको खेलाडीमा साइपालका सन्जिव लामा, गोलरक्षकमा सैनिकका आशिष बस्नेत, मिड फिल्डमा सैनिकका कमल गुरुङ, स्ट्राइकरमा ब्रिजवाटरका प्यारजंग राई र प्रशिक्षकमा सैनिकका बाबुकाजी धौभन्जर उत्कृष्ट ठहरिए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३२ टिम सहभागी थिए ।
Facebook Comment