सभामुखको उम्मेद्वार र एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक जारी

काठमाडौं। सभामुख चयन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नयाँ सभामुख चयनका विषयमा छलफल भइरहेको छ।
नेकपाले सभामुख चयन गर्न नसक्दा प्रतिनिसभा बैठक प्रभावित हुँदै आएको छ। ११ गते बस्ने तय भएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसक्दा १६ गतेसम्मका लागि स्थगित गरिएको छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोपमा राजीनमा दिएपछि करिव दुई महिनादेखि सभामुख पद रिक्त छ। सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र विवाद छ। प्रधानमन्त्री केपी ओलीले नेकपा संसदीय दलका उप नेता सुवास नेम्वाङ सभामुख बनाउन चाहन्छन्।
नेम्वाङको नामप्रति अर्का अध्यक्ष प्रचण्डको पनि असहमति छैन। तर, उनलाई पूर्व माओवादीबाटै सभामुख बनाउन दवाब छ। पूर्व माओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ। यद्यपी नेम्वाङ नै सभामुख हुने तय भएको स्रोतहरुले दाबी गरेका छन्।
यसैगरी अमेरिकी सरकारले प्रदान गर्ने भनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने नगर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। नेकपा स्थायी कमिटीको बैठकले एमसीसी स्वीकार गर्ने नगर्ने विषयमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको थियो। नेकपाभित्र एमसीसीलाई स्वीकार गर्ने र नगर्ने विषयमा मतभेद छ।
Facebook Comment