‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण

डिसी नेपाल
१३ पुष २०७६ १०:२६

काठमाडौँ । पत्रकार तथा लेखक राजकुमार दिक्पालको इतिहासपरक पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ शनिबार लोकार्पण भएको छ।

नेपाली वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा प्रज्ञा भवनमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, लेखककी आमा चन्द्रमाया मुदेनछोङ साँवा, प्राज्ञ दिनशेराज पन्त, डा. चैतन्य सुब्बा, डा. कृष्ण भट्टचन, अजम्बर काङमाङ, खगेन्द्र राई लगायतका उपस्थित अतिथिहरूले पुस्तकको सामूहिक लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि काइँलाले दिक्पालको पुस्तक प्रकाशन हुनुले हरेक आदिवासीका लागि उदाहरणीय काम भएको विचार व्यक्त गरे ।

उनले भने– “हरेक आदिवासीका आआफ्नै इतिहास छन् तर तिनको खोजी ढिलो भइसकेको छ”उनले थपे– “विद्रोहका मात्र होइन, संस्कार र संस्कृतिका कुरा पनि इतिहास हुन्छन्, व्यक्तिको पनि इतिहास हुन्छ, अब त्यतातिर ध्यान पुग्नुपर्छ ।”

पुस्तकबारे समीक्षा गर्दै डा. कृष्ण भट्टचनले नेपालमा आदिवासी विद्रोहका इतिहास खोतल्ने प्रयास गरेर लेखकले सम्पूर्ण आदिवासी समुदायमा ठुलो गुन लगाएको बताए। उनले भने- “अब इतिहासकारहरूको ध्यान आदिवासी समुदायको इतिहास लेखनतर्फ जानु पर्छ।”

कार्यक्रममा इतिहासकार प्रा. दिनेशराज पन्त, डा. चैतन्य सुब्बा, विष्णु यक्सो, मञ्जरी प्रकाशनका अध्यक्ष लक्ष्मण गाम्नागे, टीका चाम्लिङ, विश्व लिम्बू लगायत वक्ताले पुस्तकको प्रशंसा गर्दै यो कर्म आदिवासी विद्रोहको इतिहासबारे लेखनको सुरुवात भएको भन्दै पूरा गर्ने काम सम्बन्धित सबैको भएको धारणा व्यक्त गरे।

नेपाली वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा आयोजित कार्यक्रममा लोकार्पित कृतिका लेखक दिक्पालले ‘आदिवासी विद्रोहको इतिहास’ लेखनका सन्दर्भका बारे बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *