धौलागिरिको काखमा लगानी खोज्दै

डिसी नेपाल
१३ पुष २०७६ १५:२१

‘बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ । मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ, यहाँ पर्यटनको सम्भावना धेरै छ । राम्रो वातावरण भएमा बागलुङमा हामी पनि केही गर्न सक्छौँ ।’

नेपालका प्रसिद्ध उद्योगपति शेखर गोल्छा बागलुङ बजारमा आयोजित ‘बागलुङ लगानी बहस’मा सोेधिएको प्रश्नको जवाफ दिँदैथे । प्रश्न थियो–बागलुङमा आर्थिक लगानीको कस्तो सम्भावना देख्नुहुन्छ र तपाईंसँग बागलुङले कुनै लगानीको अपेक्षा राख्न सक्छ कि सक्दैन ? उनी नेपालका घरानिया उद्योगी हुनुहुन्छ । उहाँका हजुरबुबाले विसं १९३७ मा विराटनगरमा स्थापना गर्नुभएको जुटमिललाई नेपालको पहिलो उद्योग मान्न सकिन्छ । देशमा हाल गोल्छाका साना ठूला गरी झण्डै सय उद्योग सञ्चालनमा छन् । झण्डै ५० हजार नेपालीले रोजगारी पाएका छन् ।

धौलागिरि हिमालको काखमा अवस्थित सुन्दर पर्यटकीय बागलुङ बजारमा उद्योग वाणिज्य महासङ्घद्वारा बिहीबार साँझ आयोजित बहसमा उद्योगपति गोल्छाले व्यक्त गरेको उद्योगका व्यवसायका लागि राम्रो वातावरण चाहिने अभिव्यक्ति नै बहसको अन्तिमसम्म केन्द्रमा रह्यो । बहसका सहभागी सबै वक्ताको आशय नै ‘आर्थिक विकासका लागि उद्योग चाहिन्छ’ र ‘उद्योग कलकारखाना सञ्चालन गर्न सहज वातावरण चाहिन्छ’ भन्ने नै रह्यो । गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष पनि हुन् । उद्योगी, व्यवसायीको नेताको नाताले देशभरका व्यवसायीका गुनासोको प्रतिध्वनि पनि हो उनकोयो अभिव्यक्ति ।

लगानी सम्मेलन नाम दिइएको यस कार्यक्रमका प्रमुख वक्तामा नेपालका तीन स्थापित उद्यमी गोल्छा, चन्द्रप्रसाद ढकाल र मीनबहादुर गुरुङ थिए । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ अतिथि थिए ।

राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको बहस चलिरहेका बेला सबैभन्दा धेरै विप्रेषण भित्रिने जिल्लाको सूचीमा रहेको बागलुङमा यस किसिमको लगानी बहस सान्दर्भिक रहेको आयोजक बाग्लुङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘इथियोपिया गरिबी र कुपोषणले आक्रान्त थियो । पच्चीस वर्षमा आज आर्थिक वृद्धि नौ प्रतिशत पुग्यो । त्यहाँ वार्षिक साढे तीन अर्ब अमेरिकी डलरको लगानी भित्रिएको छ । गृहयुद्धले ग्रसित कम्बोडियाले केही दशकमै अहिले वर्षेनी १० अर्ब डलरको तयारी पोशाक निर्यात गर्छ । बङगलादेशले हरेक वर्ष ३५ अर्बको गार्मेन्ट निर्यात गर्छ । ती देशमा लगानी र राम्रो वातावरण भएकाले नै यो सम्भव भएको हो ।’

खाद्यान्न उत्पादनमा पनि काम गरिरहेको गोल्छा अर्गनाइजेसनका प्रमुखसमेत रहेका उनी कृषिउपजको आयात बढ्नु चिन्ताजनक रहेको बताउँछन् । पहिले कृषिजन्य उपजमा हामी आत्मनिर्भर थियौँ तर अहिले यसैमा करिब ७० प्रतिशत आयात गरिरहेका छौँ । कतिपय खाद्यान्न हामीले उत्पादन गर्दाभन्दा किन्दा सस्तो पर्ने भएको छ ।

‘कृषिमा लगानी तथा कृषकको हितमा नीतिनियम हुन नसक्दा यस्तो हुँदैछ । यसतर्फ अब सोचौँ’, उनले भने । उनको सुझाव छ, ‘देश विकासका लागि साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्नुपर्छ र ती उद्योगका लागि कर्जा प्रवाहलाई सरल र सस्तो बनाइनुपर्छ ।’

कार्यक्रम सञ्चालक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यही प्रश्न अर्का उद्योगी चन्द्रप्रसाद ढकाललाई सोधे । ‘यहाँ पनि लगानीका क्षेत्र त उनै हुन् जल, जङ्गल, जडीबुटी, कृषि र पर्यटन । तर, लगानी गर्ने वातावरण र मुनाफा आवश्यक हुन्छ र यो मिलाइदिने काम राज्यको हो– उनको आशय पनि यही नै थियो ।

व्यवसायी ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होमका प्रवद्र्धक हुन् । ढकाल बागलुङ जिल्लावासी भएकाले पनि धेरैले जिल्लामा उनको लगानीको अपेक्षा गरे ।

उनले चन्द्रागिरि आयोजना निर्माणको एक प्रसङ्ग सुनाए । ‘देश भूकम्प र नाकाबन्दीको पीडामा हुँदा पनि हामीले चन्द्रागिरि केबलकार निर्माणको काम दुई वर्षमै सक्यौँ । तर दुखेसो यो हो कि निर्माण अनुमति प्रक्रिया पूरा गर्न हामीलाई पाँच वर्ष लागेको थियो । काम दुई वर्षमा सकियो तर इजाजत दिन नै पाँच वर्ष लगाइयो । हो हामी व्यवसायीको अहिलेको गुनासो यही हो’, उनले भने ।

संयोग पनि यस्तो प¥यो कि त्यो फाइल हेर्ने तत्कालीन वनमन्त्री किरण गुरुङ (हाल गण्डकी प्रदेशका अर्थमन्त्री) त्यस कार्यक्रमको प्रमुख अतिथि थिए । उनले भने, ‘हो, त्यस समय म पनि वनमन्त्री थिएँ तर सात महिनामात्र । छोटो समय भएकाले कतिपय अवस्थामा त्यस्तो भयो पनि होला । देशमा लगानीको वातावरण निर्माण गरिदिने व्यवसायीले माग गरिरहेका बेला यो दृष्टान्तले लगानीकर्ता किन सधैँ राजनीतिक स्थिरता र काम गर्ने वातावरण खोज्छन्, भन्ने कुरा धेरै हदसम्म खुलायो ।’

ढकालको भनाइ थियो– ‘देशमा तीन तहका सरकार बनेसँगै आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन राजनीतिक नेतृत्व जागरुक देखिएको छ तर जब काम थाल्ने बेला हुन्छ अनि निजी क्षेत्रले व्यहोर्ने झमेला उही पुरानै देखिन्छ । म जिल्लातिर जाँदा व्यवसायीले गर्ने गुनासो यही हो ।’ निजी क्षेत्रको लगानीलाई पनि सरकारले विनालगानीको साझेदारीका रुपमा लिएर मलेसियामा महाथीर मोहम्मदले केही दशकमै ठूलो विकास गरेको दृष्टान्त पेश गर्दै ढकालले नेपालमा पनि सरकारले निजी क्षेत्रलाई जसरी तीनखम्बे अर्थ नीतिको दरिलो खम्बा भनेको छ त्यसलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन तथा सहज बनाइदिन आग्रह गरे ।

बहसका अर्का उद्यमी मीनबहादुर गुरुङ नेपालमा चर्चित भाटभटेनी सुपरमार्केटका संस्थापक हुन् । उनले विसं २०४१ मा काठमाडौँको भाटभटेनीमा ३५ हजार लगानीमा एउटा सानो पसलबाट शुरु गरेको व्यवसाय हाल १८ ठाउँमा विस्तार भएको सफलताको कथा सुनाए, जुन साना ठूला सबै उद्यमीका लागि प्रेरणामूलक थियो ।

‘नेपालमा व्यवसाय गर्नु भनेको फलामका चिउरा चपाउनुजस्तै हो’, गुरुङको यो अभिव्यक्ति लामो र सङ्घर्षपूर्ण उद्यमशीलताको अनुभवको उपज पनि हो । उनको आशय नेपालमा काम गर्न सजिलो छैन भन्ने थियो ।

उनले परिश्रम, पारदर्शिता र इमान्दारिताले मानिसलाई सफल बनाउने अनुभव सुनाए । उनले बागलुङ बजारमा जग्गा मिलाइदिए आफूले १० महिनाभित्रै भाटभटेनी मार्केट ल्याउने वचनसमेत दिए । व्यवसायमा धैर्यता र इमान्दारिता अत्यावश्यक छ, उनले व्यवसायीलाई सुझाव दिए ।

त्यहाँ उपस्थित सबैजसो व्यवसायीको गुनासो काम गर्ने संयन्त्र चुस्त हुन नसकेको, निजी क्षेत्रलाई सहज वातावरण अझै बन्न नसकेको र बढी करको भारले साना तथा मझौला उद्योगलाई मार परेको भन्ने थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले भने, ‘दुई वर्षअघि ८ सय ७२ लाग्ने कर अहिले कम्तीमा १२ हजार भएको छ, अनि कसरी गर्न सकिन्छ व्यवसाय रु”

गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङले पुराना नियम कानून त्यति निजी क्षेत्रमैत्री हुन नसकेको स्वीकार गर्नुभयो । उनले भने, ‘हो, विगतमा बनेका नियम कानूनमा सरोकारवालालाई राख्ने, उनीहरुका सुझाव पनि लिने काम भएन होला, तिनमा संशोधन गर्ने र लगानीमैत्री बनाउने काम हुनेछ ।’

लगानीको वातावरण अहिले पनि छ र भोलि अझै सहज बनाउने काम प्रदेश सरकारले गर्नेछ भन्दै उनले लगानीका योजना ल्याउन व्यवसायीलाई आग्रह गरे । सांसद डा सूर्य पाठकले राज्य आर्थिकरुपमा किन असफल हुन्छन् ‘ह्वाई नेसन्स् फेल’ पुस्तकको सन्दर्भ प्रस्तुत गर्दै एकै भूगोलका राष्ट्र पनि देशको सिमानामा छुट्टिएसँगै समृद्ध र असफल हुने बताए । उनले भने ‘कुनै पनि देशको आर्थिक विकासका लागि आफ्नो भौगोलिक अवस्थिति र मौलिकताजस्ता पक्षलाई पनि आधार बनाइनु जरुरी छ ।’

 

देशको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको केन्द्रबिन्दुमा अवस्थित बागलुङमा हुने यस्तो लगानीको बहसले हाम्रा भारत र चीनजस्ता समृद्ध छिमेकीसम्मको पहुँचको ढोका खोलिदिन सक्छ । गण्डकी प्रदेश यी दुवै छिमेकीसम्म भौगोलिक पहुँच पुग्ने एकमात्र प्रदेश हो ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र भारत अर्को विशाल अर्थतन्त्र । यी दुई छिमेकमै साढे दुई अर्ब जनसङ्ख्या छ तर हामी २० लाख मात्र पर्यटक ल्याउन राष्ट्रिय कार्यक्रम बनाएर व्यापक लागिपरेका छौँ । त्यो ठूलो जनसङ्ख्या हाम्रा लागि पर्यटनको मात्र नभएर हाम्रो उत्पादनकै पनि विशाल बजार हो ।

त्यसैले पनि गण्डकी प्रदेशको यो भौतिक पहुँच बागलुङ र सिङ्गो देशका लागि समृद्धिको आधार बन्न सक्छ । व्यवसायीले माथि खोजेको ‘वातावरण’ बागलुङको लागि मात्र होइन । यो उनीरुको देशैभरिको व्यावसायिक अनुभवको उपज हो, बागलुङ त यहाँ प्रतिनिधि पात्रका रुपमा मात्र आएको हो । तसर्थ सरकारले आफ्नो समृद्धिको यात्रामा निजी क्षेत्रलाई पनि साझेदारका रुपमा लिएर अघि बढ्ने हो भने संसारको सबैभन्दा मलिलो हाम्रो माटोमा सुन फलाउन कुनै कठिन देखिन्न । यसो भयो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रै पालामा सम्भव छ ।

रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *