यूक्रेनसँग डोनेट्स्क र लहान्स्क विद्रोहीबीच कैदी आदानप्रदान
किभ । यूक्रेन र रूस पक्षधर डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच आइतबार कैदीको आदान प्रदान भएको छ ।
यूक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै केही समय पहिले पृथक भएका डोनेट्स्क र लुहान्स्क विद्रोहीबीच फ्रान्सको राजधानी पेरिसमा भएको उच्च स्तरीय वार्ताको आधारमा कैदी आदानप्रदान भएको हो ।
“यूक्रेन र पृथकतावादी समूहबीच आपसीरूपमा करिब २०० कैदीको आदानप्रदान भएको हो,” यूक्रेनी राष्ट्रपतिको कार्यालयको फेसबुकमार्फत् जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त अवसरमा यूक्रेनतर्फका ७६ जना कैदी फिर्ता गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै विद्रोहीले आफ्ना नेता, कार्यकर्ता र लडाकू गरी जम्मा १२४ जनालाई फिर्ता पाएको जनाएका छन् ।
यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौँ कैदीहरू आदानप्रदान गर्ने कुरा शनिबार सार्वजनिक गरिएको थियो ।
पेरिसमा भएको उच्च स्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चालिएको यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । यूक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई यूक्रेनबाट स्वतन्त्र बनाउने लडाइ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको यूक्रेनको दावी छ ।
केही हप्ता पहिले रूस र यूक्रेनबीच पनि केही कैँदीको आदानप्रदान भएको थियो ।
Facebook Comment