ब्यङ्ग्य कविता- ‘मालाले ज्यान जाला’ – अर्जुन राज पन्त
“मालाले ज्यान जाला”
को हौ तिमी भनिकन क्यारी चिन्ने अब
अनुहार नै छोप्ने गरि माला छन् त जब ।
स्वइच्छाले लाइदिए कि डराएर उनी
थौरे माला लगाई दिए हेपेउ भन्छ भनि ।
ठूलै खालको पुरुषार्थ गर्यौ कि पो कतै
खुट्टा देखि टुप्पी सम्म माला जता ततै ।
रहर हो कि प्रतिष्ठा हो अचम्मै पो भा छ
फूलै फूलले नेता पुर्ने नौलो चलन आ छ ।
चाकडी र चाप्लुसीमा शुन्य बिबेक आज
यति विधि माला लाउन छैन सरम लाज ।
पुजा आजा खूशीयालि कि त कठै लाशमा
अप्रसङ्गि एति माला आज जिँउदा शासमा ।
तिम्ले ला को माला देखि भा को हैन रिस
कुपात्रमा पर्दा खेरि अमृत पनि बिष ।
सरदमा मात्र फूल्ने डाली लत्रि लत्रि
बेमौसममा कँहाबाट यत्रो सयपत्री ।
नेता आ को देखे पछि अचम्मै छ चाला
बिदेशी फूल मगाएर एति बिधि माला ।
त्यहि फूलका माला अनि सजाएर आशन
छाति पिटि गर्छन कठै स्वाबलम्भि भाषण ।
कस्ले सोच्ने फूलमा गर्दा यस्तो फजुल खर्च
कति भोका परिवारको गर्जो समेत टर्छ ।
टुप्पि सम्म माला लगाइ आँखै समेत छेक्दा
सिडि गौँडा खाल्डा ठोसा फूलै समान देख्दा ।
धातक होला त्यहि माला हिंड आँखा हेरि
गर्न पर्ला उप चुनाब तिमि लड्दा खेरि ।
आँखै समेत छोपि हिंड्दा फूलमालाले बेरी
त्यही मालाले गर्न पर्ला अर्को काम नि फेरि ।
अर्जुन राज पन्त
(ब्यङ्ग्य कबि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइली का समेत लेखक हुन)
Facebook Comment