आतङ्कवादी आक्रमण रोक्न सघाएकोमा पुटिनले दिए ट्रम्पलाई धन्यवाद

डिसी नेपाल
१४ पुष २०७६ १४:३७

बीबीसी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनल्ड ट्रम्पलाई रुसमा हुन लागेका “आतङ्ककारी कार्यहरू” रोक्न सहयोग हुनेगरी गुप्तचरी सूचना उपलब्ध गराएकोमा धन्यवाद दिएको क्रेम्लिनले जनाएको छ।

क्रेम्लिनले प्रकाशित गरेको विज्ञप्तिमा दुई राष्ट्रपतिहरूबीच आइतवार फोनवार्ता भएको उल्लेख छ। अमेरिकी गुप्तचर निकायमार्फत् सूचना प्राप्त भएको जनाए पनि उसले त्यसबारे थप विवरण दिएको छैन।

रुसी सञ्चारमाध्यमका अनुसार नववर्षका बेला सेन्ट पिटर्स्बर्गमा गरिन लागेको आतङ्ककारी आक्रमणको योजना पत्ता लागेको जनाएका छन्। समाचार संस्था टासले रुसी गुप्तचर निकाय एफएसबीका एक प्रवक्तालाई उद्धृत गर्दै दुई रुसी नागरिकलाई गरिएको तथा मानिसहरूको एउटा भेलामा आक्रमण गर्ने योजनासम्बन्धी सामग्री बरामद भएको जनाएको छ।

यसअघि पनि दुई राष्ट्रपतिबीच बेलाबेला फोनवार्ता भएको थियो। वार्ताको अभिलेखले उनीहरूले सिरिया, पारमाणविक सम्झौता, उत्तर कोरिया तथा व्यापारको विषयमा छलफल गरेका थिए।

सन् २०१७ को डिसेम्बरमा पुटिनले अमेरिकी गुप्तचर निकायले सूचना उपलब्ध गराएकोमा ट्रम्पलाई धन्यवाद दिएका थिए। ह्वाइट हाउसका अनुसार त्यो सूचना पनि सेन्ट पिटर्स्बर्गमा हुन सक्ने सम्भावित आतङ्ककारी आक्रमणबारे नै थियो।

क्रेम्लिनका अनुसार त्यति बेला पुटिनले आफूले पनि अमेरिकालाई आतङ्ककारी गतिविधिबारे सूचना दिने वचन दिएका थिए। सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि वाशिङ्टन र मस्कोको सम्बन्धमा तिक्तता आएको थियो।

सन् २०१७ मा सीआईएले उपलब्ध गराएको सूचनाका आधारमा सेन्ट पिटर्स्बर्गको कजान गिर्जाघरमा हुन लागेको आक्रमण विफल पारिएको बताइन्छ
सन् २०१६ मा भएको अमेरिकी निर्वाचनमा क्रेम्लिनले हस्तक्षेप गरेको निष्कर्ष अमेरिकी गुप्तचर निकायले निकालेपछि उनीहरूबीच सम्बन्ध झन् बिग्रियो।

तर दुई राष्ट्रपतिबीच राम्रो व्यक्तिगत सम्बन्ध कायम भएको देखिन्छ। उनीहरूले आतङ्कवाद नियन्त्रण गर्न परस्पर सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन्। रुसी नेताको निमन्त्रणा स्वीकार गर्दै ट्रम्पले आगामी मे महिनामा मस्कोमा आयोजना हुने भिक्ट्री डे समारोहमा उपस्थित हुने सङ्केत गरेका छन्।

दुवै राष्ट्रले इस्लामिक स्टेट समूहबाट खतरा बेहोरेका छन्। उक्त समूहले सन् २०१५ मा रुसबाट उडेको एउटा रुसी विमान आफूले खसालिदिएको स्वीकार गरेको थियो। उक्त घटनामा २२४ जनाको मृत्यु भएको थियो। रुसमा पक्राउ परेका व्यक्तिहरूको अन्य समूहसँग सम्बन्ध भएको वा नभएको स्पष्ट छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *