रातो मच्छिन्द्रनाथ पुनःनिर्माण उपभोक्ता समिति मार्फत

डिसी नेपाल
१४ पुष २०७६ २२:३०

ललितपुर । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत गराउने भएको छ ।

सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खडका, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, मन्दिर रहेको वडाका अध्यक्षलगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजनाअनुसार मन्दिर पुनःनिर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो । स्थानीयवासीले ठेक्का लगाउनु अघिदेखि नै उपभोक्ता समितिमार्फत काम हुनुपर्ने माग गर्दै आएका थिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको नमूनाअनुसार उपभोक्ता समितिमार्फत काम गरिने निर्णय भएको जानकारी दिए । मन्दिर पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा सरोकार भएका निकायका अधिकारी सदस्य रहेको समिति पनि गठन गरिने भएको छ ।

सांसद भुसालले उपभोक्ता समिति मार्फत पुनःनिर्माण गरिने हुँदा रातो मच्छिन्द्रनाथ मन्दिरको काम अब तोकिएकै समयमा पूरा हुने आशा बढेको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण गरिनु पर्नेमा जोड दिँदै यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

बैठकमा बुङ्गमतीको सार्वजनिक पूर्वाधार एवं सम्पदा पुनःनिर्माणका लागि तयार गरिएको अन्य गुरुयोजनाबारे पनि छलफल भएको जनाइएको छ ।

सांसद भुसालले गुरुयोजनालाई स्वीकार गरी त्यसअनुसार पुनःनिर्माण अघि बढाउन उपयुक्त हुने धारणा राखे । उनले त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट अधिकतम बजेट राख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नगर प्रमुख महर्जनले महानगरपालिकाका तर्फबाट पनि गुरुयोजनाको स्वामित्व लिने र त्यसका केही मुख्य भाग पुनःनिर्माण गर्न सहयोग गर्ने आश्वासन दिए । बैठकमा गुरुयोजनाबारे थप छलफल गरेर अन्तिम रुप दिने समझदारी समेत बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *