देउवा इतर समूहको निश्कर्ष : अब देउवाबाट पार्टी चल्दैन

डिसी नेपाल
१५ पुष २०७६ १५:३२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्र जारी विवादले थप उग्र रुप लिएको छ। सभापति शेरबहादुर देउवा इतर समूह अब ‘देउवाबाट हुँदै नहुने’ निश्कर्षमा पुगेको छ।

देउवा इतर समूहका नेता प्रकाशमान सिंह भन्छन्, ‘अब उहाँबाट पार्टी चल्दैन। उहाँको कार्यकाल सकिनै लाग्दा त देखियो नी। उहाँले पार्टी चलाउन सक्नु भएन। विद्यार्थीको परीक्षण वार्षिक परीक्षामा हुन्छ। नेताको परीक्षण चुनावमा हुन्छ। चुनावमा काँग्रेसले कस्तो प्रदर्शन गर्यो? त्यो देखिएको छ नी।’

मंगलबार चाक्सीबारीमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले देउवाबाट पार्टी नचल्ने भएकाले एक वैकल्पिक टिम बनाउन लागिएको बताए। उनले भने, ‘गलत ट्रयाकमा गएको पार्टीलाई सही ठाउँमा ल्याउन देउवाको विकल्प खोज्नु पर्नेबेला आयो।’

अब उहाँबाट पार्टी चल्दैन। उहाँको कार्यकाल सकिनै लाग्दा त देखियो नी। उहाँले पार्टी चलाउन सक्नु भएन। विद्यार्थीको परीक्षण वार्षिक परीक्षामा हुन्छ। नेताको परीक्षण चुनावमा हुन्छ। चुनावमा काँग्रेसले कस्तो प्रदर्शन गर्यो? त्यो देखिएको छ नी।’

हालै पार्टी केन्द्रीय कार्य समितिले देउवा इतर समूहको बहिस्कारका वाबजुद पार्टीको आगामी महाधिवेशनको कार्यतालिका बनाएपछि काँग्रेस भित्रको विवाद उत्कर्षमा छ। संस्थापन पक्षले एकलौटी रुपमा बहुमतको भरमा आफ्ना विपक्षीलाई ‘पेल्ने’ नियतले निर्णय गरेको असन्तुष्टहरुको आरोप छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, महामन्त्री डा. सशांक कोइरालालगायतका नेताहरु अहिले देउवा समूहविरुद्ध एकजुट भएका छन्। १३ औं महाधिवेशनमा देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका अर्जुननर सिंह केसीसमेत अहिले पौडेल समूहमै आएका छन् भने १३ औं महाभिवेशनमा सभापतिमा चुनाव लडेर दोस्रो पटक देउवालाई समर्थन गरेका सिटौला पनि पौडेलकै लाइनमा उभिएका छन्।

नेता प्रकाशमान सिंहले भने, ‘देउवाको विकल्पमा हामीहरु टिम बनाउँछौं। अब उपयुक्त टिम बनाउन देशैभर दौडाह गर्छौं।’ देउवा इतर समूहको अबको नेता को भन्ने निश्कर्ष भने अझै निस्किएको छैन। तपाईँहरुको नेता को भन्ने प्रश्नमा नेता सिंहले भने, ‘उपयुक्त समयमा नाम तोक्छौं।’

२०४६ सालको जलनआन्दोलनका लागि तत्कालीन आन्दोलनरत दलहरुको भेला भएको स्थान चाक्सीबारीमा मंगलबार पत्रकारहरुसँग गणेशमान पुत्र नेता सिंहले पत्रकारहरुसँग पार्टीमा देखिएको पछिल्लो विवादका केही भित्री कुरा पनि खोले। उनले विवाद भएपछि पटक पटक भएका वार्ताहरुबारे पनि जानकारी गराए।

नेता सिंहले भने, ‘उताबाट विमलजी (विमलेन्द्र निधी) र हाम्रो वार्ता टोलीबीच पटक पटक वार्ता भयो। हामीले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएर बुझायौं। कुरा लगभग मिलेको थियो। नेविसंघको कुरा बाँकी थियो। सभापति जीले फोन गरेर यो पनि मिलाउँछु भन्नु भयो। तर, कुरा नगरी एकै पटक केन्द्रीय समितिको बैठकमा सहभागी हुन बोलाइयो।’

नेता सिंहका अनुसार गएको शुक्रबार केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टी कार्यालयमा नेता पौडेल सभापति देउवाको सन्देश कुरेर बसेका थिए। किनकी देउवाले सबैको सहमतिमा मात्र निर्णय गर्ने बचन पौडेललाई दिएका थिए। तर, कर्मचारीमार्फत बैठकमा आउन भनियो, सभापतिले पौडेलसँग कुरा गरेनन्। त्यसपछि उपसभापति विमलेन्द्र निधीले आफुलाई बैठकमा आउन भन्दै फोन गरेको नेता सिंहले जानकारी दिए। निधीलाई आफुले कुरा मिलाउँछु भन्ने त कुरा मिलाई बैठक बोलाउन हामी कसरी आउने ? भनेर जवाफ दिएको नेता सिंहले बताए।

उनले भने, ‘हामी बैठकमा आउँदैनौं, सक्नुहुन्छ भने बैठक रोक्नुहोस, नत्र आफ्नो गर्नुहोस भनेँ।’ गएको शुक्रबारको बैठकले देउवा र देउवा इतर समूहलाई निकै टाढा पुर्याएको नेता सिंहको भनाई छ।

उनले भने, ‘१२ औं महाधिवेशन सम्पन्न हुँदासम्म कहिल्यै पनि बहुमतका आधारमा महाधिवेशनको मिति तोकिएन। यो परम्परा पनि देउवाले तोड्नु भयो।’ पार्टीको विधानका धाराहरु निलम्बन गरेर आफ्नो खल्तीका मान्छेलाई क्रियाशील सदस्यता वितरण गरेर पार्टी कब्जा गर्ने रणनीतिमा सभापति देउवा रहेकोसमेत उनले बताए।

उनले भने, ‘महाधिवेशन निश्पक्ष हुन्छ भन्ने त हुनु पर्यो नी। यस्तो अवस्थामा त कसरी निश्पक्ष महाधिवेशन हुन्छ? त्यो निर्णयहरु नसच्याउँदासम्म हामी बैठकमा जाँदैनौं।’ नेता सिंहले देउवा इतर समूहले अब पार्टी कार्यालयमै भेला गरेर आफ्नो निर्णय गर्ने बताए।

उनले पार्टीका जिल्ला सभापति, महाधिवेशन प्रतिनिधिहरुको भेला गर्ने तयारीसमेत भएको बताए। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा देउवा इतर समूहको भेलासमेत बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *