नयाँपाटी गुम्बामा १७ औ विश्व शान्ति माने पूजा
काठमाडौं। काठमाडौँको नयाँपाटीस्थित ड्रिकुङ्ग काग्यू न्छिनलिंग गुम्बाले विगत १७ वर्षदेखि गर्दै आएको विश्व शान्ति माने पूजा मंगलबार सम्पन्न भएको छ। उक्त गुम्बाले गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा बर्षेनी विश्व शान्ति माने पूजा गर्दै आइरहेको छ।
यसपटकको पूजा पुस ६ गतेदेखि सुरु भएको हो। पूजा परमपुज्य धर्मगुरुद्वय डुवाङ नुपा कोन्छयोक तेन्जिन रिन्पोछे र तोग्देन रिन्पाछेको उपस्थितिमा सम्पन्न गरिएको हो। संसारमा सुखशान्ति फैलियोस् भन्ने कामना सहित बौद्ध धर्मावलम्वीले विश्व शान्ति पूजा गर्ने प्रचलन रहँदै आएको छ।
१० दिने पूजाको पाँचौ दिनमा गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछे ज्यूको अवतारी गतिको समारोह, पुस १४ गते गुरु डुबाङ नुपा कोन्छयोकले अवलोकितोश्वरको अभिषेक अर्थात वाङ गरेका थिए। त्यस्तै पूजाको अन्तिम दिन पुस १५ गते मंगलबार श्रद्धेय गुरु तोग्देन रिन्पोछेबाट ड्रिकुङ फोबा र लामो आयु अभिषेक अर्थात् छेपाग्मे वाङ प्रदान गरेका थिए।
महायानी बौद्ध धर्मभित्रका प्रख्यात धर्मगुरुहरुको उपस्थितिमा भएको पूजामा धर्मावलम्बीको सहभागिता उल्लेख्यरुपमा भएको थियो। पूजाको अन्तिम दिन मंगलबार २ हजार भन्दा बढि श्रद्धालु उपस्थित भएको गुम्बाका सचिव नामग्याल लामाले बताए। सिंगापुर, चीन, इण्डोनेसिया लगायतका देशबाट पनि ठूलो संख्यामा अनुयायी पूजामा सहभागि भएका थिए।
Facebook Comment