संसदीय समितिमा भूमि व्यवस्थामन्त्रीको बयानः कालापानी क्षेत्रमा भारतले नापनक्सा गर्न रोक्यो

डिसी नेपाल
१५ पुष २०७६ २०:०८

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीर्लाइ भारतले रोकेको बताएकी छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति मंगलबार बसेको बैठकमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ। कुटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडि बढाउने उनले बताइन्।

मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताइन्। कालापानी र लिपुलेक नेपाली नक्सामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनले बताइन्।

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए।

समिति बैठमा नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताए।

अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए। रावलले भने, ‘उहाँले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ। नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइने भने हामीले अन्त पनि नदेखाए भयो नी त। नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिने?’

नेता रावलले सन्धी सम्झौताहरुले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न के गाह्रो भन्दै प्रश्न समेत गरे। उनले नेपाल सरकारका सबै अंगहरुमा नक्साको उपयोग हुने अवस्थामा नयाँ नक्सा जारी गरी तत्काल लागु गर्न पनि माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *