प्रधानमन्त्री ओलीको घाउ निको हुँदै

डिसी नेपाल
१५ मंसिर २०७६ १२:४५

काठमाडाैं। एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ।

उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन्। “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थालेका थिए।

कार्यकारी निर्देशक श्रेष्ठले भने “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ। शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ।”

अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ। घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *