चुनौतीसँगै जुध्दै भँडेल प्रदेशसभामा

डिसी नेपाल
१५ मंसिर २०७६ २१:४२

भक्तपुर । नेपाली काँग्रेसका तत्कालीन क्षेत्र नं १ का क्षेत्रीय सभापति कृष्णलाल भँडेल दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट पराजित भए पनि आफ्नो धैर्य र मेहनेतले यसपटक भने प्रदेशसभा सदस्यको निर्वाचन जित्न सफल भएका छन्। वडाअध्यक्ष, गाविस अध्यक्ष र संविधानसभा सदस्यमा पराजय भोगेका भँडेल राजनीतिक जीवनमा चुनौतीसँग जुँध्दै अघि बढ्दा यसपटक भने प्रदेशसभासम्मको यात्रा तय गर्न सफल भएका हुन्।

नेपाल मजदूर किसान पार्टीको पकड रहेको बेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग संविधानसभा सदस्यमा भँडेल पराजित भएका थिए । संविधानसभामा पराजित उनि यसपटकको प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा भने निर्वाचित भएका छन्। भँडेल निर्वाचित भइरहँदा गतनिर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने प्रदेशसभामा एक सिट गुमाएको छ ।

विसं २०७० सम्मको निर्वाचनमा काँग्रेसको नेमकिपासँग प्रतिस्पर्धा हुन्थ्यो भने एमाले तेस्रो दल थियो । गतनिर्वाचनमा एमाले पहिलोे, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो । यसपटकको उपनिर्वाचनमा फेरी काँग्रेस पहिलो बनेको छ भने नेकपा दोस्रो र नेमकिपा तेस्रो । नेकपाले क्षेत्र नं १ (क) लाई आफ्नो लाल किल्ला भन्दै आए पनि जनताले भने फरकफरक पार्टीलाई छानेर सबै पार्टीको काम गर्ने शैली र प्रतिबद्धतालाई नियाली रहेको दलका नेताहरु नै बताउछन् ।

नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले राप्रपा संयुक्तको साथ र सहयोगले काँग्रेसले जीत सुनिश्चित गरेको दाबी गर्दै जनताको अभिमतको कदर गर्ने बताउछन् । उनि भन्छन्, ‘नेकपा कमजोर भएको छैन, सबै मत नखस्दा कमजोर जस्तो देखिएको हो, काँग्रेसको पनि खासै भोट बढेको हामीले पाएनौँ, राप्रपा संयुक्तले काँग्रेसलाई सघाउदा काँग्रेसले जीत निकालेको हो, आगामी निर्वाचनमा हामी थप मिहेनतका साथ अगाडि बढ्छौँँ ।”

स्थानीय उम्मेदवारलाई टिकट नदिँदा पराजय भोग्नुपरेको भन्ने चर्चा हल्ला मात्रै भएको दाबी गर्दै उनले पार्टीले जो व्यक्तिलाई टिकट दिए पनि पार्टीको मत एक ढिक्का भएर खसेको बताए । क्षेत्र नं २ का सांसद एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेत माओवादीसँगको पार्टी एकतालाई जनस्तरसम्म मजबूद पार्न नसक्नु र तत्कालीन एमालेलाई भोट दिने स्वतन्त्र मतदाताको मत विभाजित हुँदा यस्तो परिणाम आएको बताउनछन्। नेकपाले पराजय हुनुको कारण खोज्ने गरी गम्भीर रुपमा समीक्षा गर्ने उनले बताए।

यता नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा यो क्षेत्रमा पहिला पनि काँग्रेस कमजोर नरहेको दाबी गर्दै अघिल्लो निर्वाचनमा पार्टीभित्र केही असन्तुष्टिका कारण पराजय भोग्नुपरेको बताउछन्। ‘यसपटक घातअन्र्तघात भएन, पार्टी एकढिक्का भयो, त्यसमाथि राप्रपा संयुक्तसँग पनि सहमति बन्यो र राप्रपा संयुक्तको भोट पनि थपिएपछि जीत सुनिश्चित भएको हो’ उनले भने । काँग्रेसले अब काम गरेर देखाउने र यो क्षेत्रलाई आफ्नो पकड क्षेत्र बनाउने सभापति थापाले बताए।

राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले प्रजातान्त्रिक शक्तिहरु एक भएर जाने अभियान स्वरुप आफ्नो पार्टीको उम्मेदवार नभएको अवस्थामा काँग्रेससँग समझदारी गरेर उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई सघाएको बताउछन्। यसक्षेत्रमा राप्रपा संयुक्तसँग पनि राम्रो भोट रहेको भन्दै उनले अब काँग्रेस र राप्रपा संयुक्त मिलेर काम गर्ने बताए ।

भक्तपुरका राजनीतिक विश्लेषकहरु भने चाँगुनारायण नगरपालिकाले मतदाताको मन जित्नेगरी काम गर्न नसक्नु, नगरकोट सडक अलपत्र बन्नु र स्थानीयवासीले टिकट नपाउनुले नेकपालाई असर परेको दाबी गर्छन् । काँग्रेसका उम्मेदवार भँडेल स्थानीय बासिन्दा भएकाले मतदाताले रुचाएको र नेकपाका उम्मेदवार डीपी ढकाल सशस्त्र द्वन्दपछि शान्ति प्रक्रियामा आएयता भक्तपुरमा बसेर राजनीति गरे पनि स्थायी बासिन्दा नभएका कारणले त्यसको असर पनि उपनिर्वाचनमा परेको राजनीतिक दलका नेताहरु दाबी गर्छन्् ।

उपनिर्वाचनमा १३ हजार ४ सय ४९ मतका साथ निर्वाचित भँडेलका निकटतम प्रतिद्वन्द्वी नेकपाका ढकालले भने ११ हजार २ ष् ि६ मतमै चित्त बुझाउनुप¥यो । भँडेल वा ढकाल जो निर्वाचित भए पनि ५ सय देखि १ हजार मतको अन्तर हुन्छ भन्ने दलका नेताहरुको अनुमानलाई चिर्दै २ हजार २ सय ४३ मतको अन्तरमा भँडेल निर्वाचित भए। कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा ३२ हजार ३७ मतदाताले मात्र मतदान गरे भने १२ हजार ९ सय ७८ मतदाता मत खसाल्नै आएनन् ।

विसं २०५१ सालमा वडाध्यक्ष, २०५४ सालमा तत्कालीन चाँगुनारायण गाविस अध्यक्ष र २०७० सालमा संविधानसभा निर्वाचनमा पराजय भोग्नुभएका भँडेलको राजनीति सकियो भन्नेलाई उपनिर्वाचनमा निर्वाचित भएर राजनीतिमा सक्रिय रहने जवाफ पनि उहाँले दिनुभएको छ । राजनीतिक दलसँगै जनताको विकासप्रतिको चाहनालाई पूरा गर्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने चुनौती भने भँडेलका सामुन्ने विद्यमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *