डम्पिङ साइट’ नहुँदा फोहर व्यवस्थापनमा चुनौती

डिसी नेपाल
१५ मंसिर २०७६ २२:१२

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहमा फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) नहुँदा फोहर व्यवस्थापनमा चुनौती थपिएको छ ।

सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा ‘डम्पिङ साइट’ नहुँदा फोहर व्यवस्थापन गर्न गाह्रो भएको हो । कतै जग्गा अभाव र कतै व्यवस्थापनमै ध्यान नपुग्दा फोहरको वर्गीकरण र व्यवस्थापनमा समस्या देखिएको छ । भीमदत्त, शुक्लाफाँटा, महाकाली, बेलौरी र पुनःवास नगरपालिकामा अस्थायी रूपमा फोहर व्यवस्थापन गरिएको छ ।

बेदकोट, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाले फोहर व्यवस्थापन गरेका छैनन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय तह भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा फोहर व्यवस्थापन झनै जटिल बन्दै गएको छ । भीमदत्त नगरपालिकाले फोहर व्यवस्थापन केन्द्रको अभावमा महेन्द्रनगर बजारबाट सङ्कलन हुने फोहर सडकका खाल्टाखुल्टीदेखि कार्यालय परिसरमा थन्क्याउने गरेको छ ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रबाट मात्रै पाँच टनभन्दा बढी फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकासँग फोहर व्यवस्थापन गर्ने विकल्प नभएकाले कार्यालय परिसरमा फोहरमैला थुपारेर नष्ट गर्ने गरेको भीमदत्त नगरपालिकाका सरसफाइ शाखाका प्रमुख पुष्पराज भट्टले बताए।

फोहर व्यवस्थापन केन्द्र निर्माणका लागि भीमदत्तले जग्गा खोजिरहेको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए। नगरपालिकामा एशियाली विकास बैंकको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत डम्पिङ साइट निर्माण गर्नका लागि जग्गा पहिचानको कार्य भइरहेको उनले बताए। बेदकोट नगरपालिकामा पनि डम्पिङ साइटको अभाव रहेको छ ।

नगरपालिकासँग डम्पिङ साइट नहुँदा बजारको फोहरसमेत सङ्कलन गर्न नसकिएको नगरपालिकाका उपप्रमुख सुशिला सिंहले बताइन। उनले भनिन, “अहिले बजारको फोहोर व्यापारी आफैँ सङ्कलन गर्छन्, आफै नष्ट गर्छन ।” नगरपालिकाले डम्पिङ साइट निर्माण गर्न जमिन खोजिरहेको उनको भनाई थियो । महाकाली नगरपालिकाले पनि अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ । महाकाली नगरपालिकाले दुई स्थानमा अस्थायी रुपमा फोहर राख्ने गरेको छ ।

दोधारा क्षेत्रको फोहर संयुक्त वडा कार्यालय भवन नजिक राख्ने गरिएको र चाँदनी क्षेत्रको फोहोर गौरीशङ्कर सामुदायिक वनमा राख्ने गरिएको छ। स्थायी फोहोर व्यवस्थापन केन्द्र बनाउने योजना रहेको छ , साथै जग्गाको खोजी समेत भइरहेको छ ।

दोधारा र चाँदनी क्षेत्रबाट करीब तीन टन फोहर सङ्कलन हुने गरेको छ । बजार क्षेत्रमा फोहर सङ्कलनका लागि फोहर राख्ने टिनका डिब्बा भने राखिएका छन् । एशियाली विकास बैंकको क्षेत्रीय शहरी विकास आयोजनाको सहयोगमा शुक्लाफाँटा नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।

नगरपालिकाले वडा नं ११ को कृष्ण सामुदायिक वनमा अस्थायी डम्पिङ साइट बनाएको छ । शुक्लाफाँटाको झलारी, वन समिति र कलुवापुर बजारबाट नगरपालिकाले फोहर सङ्कलन गरेर व्यवस्थापन गर्ने गरेको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए।

कृष्णपुर नगरपालिकाले डम्पिङ साइटको अभावमा बजारको फोहर सङ्कलन गर्न सकेको छैन । कृष्णपुर नगरपालिकाको मुख्य बजार क्षेत्रका फोहोर डम्पिङ साइटको अभावमा सङ्कलन नभएको सूचना अधिकारी प्रेमसिंह बोगटीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *