‘पुरानै पदाधिकारीबाट न्याय पाउने आशा छैन’

डिसी नेपाल
१५ मंसिर २०७६ २२:१८

काठमाडौं । द्वन्द्वपीडित साझा चौतारी नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा पुरानै पदाधिकारीलाई पुनः नियुक्ति गर्न नहुने जनाएको छ ।

चौतारीले सभामुखको सचिवालय सिंहदरबार, कानून, न्याय तथा मानव अधिकारी समिति र राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र आज दर्ता गरेको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, “पीडितको भावनालाई कुल्चिएर पुरानै पदाधिकारीको पुनर्नियुक्ति संसद्को समेत अपमान र ऐनको भावना विपरीत हुन्छ ।”

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका आयोगमा गत चैत मसान्तदेखि पदाधिकारीको म्याद सकिएको थियो । अहिले नयाँ पदाधिकारीमा पनि पुनः पुरानै पदाधिकारीको नाम सार्वजनिक भएको छ । पुराना पदाधिकारीबाट न्याय पाउने आशा नभएकाले नयाँ पदाधिकारी ल्याउनुपर्ने चौतारीको माग छ ।

ध्यानाकर्षणपत्रमा हाल सिफारिस समितिले आयोगका पदाधिकारी सिफारिस गर्ने क्रममा यही मङ्सिर २ गते प्रकाशित गरेको सूचनामा पुराना र पदच्युत भएका व्यक्तिको नाम समावेश गरी प्रकाशित गरेकोप्रति आपत्ति व्यक्त गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *