कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना

डिसी नेपाल
१६ मंसिर २०७६ १९:०४

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५÷२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले बताए ।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो ।

गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ८०.७९ र वित्तीय प्रगति ७३.७४ प्रतिशत छ । यसैगरी बबई सिँचाइ आयोेजनाको भौतिक ४६.४१ र वित्तीय ४३.३६ प्रतिशत प्रगति छ । रानीजमरा कूलरीया सिँचाइ आयोजनाको भौतिक ८२.७३ र वित्तीय ५१.२७ प्रतिशत प्रगति छ ।

यसैगरी, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक १ सय र वित्तीय ९८.६५ प्रतिशत प्रगति छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक ७१.५६ र वित्तीय ९७.०२ प्रतिशत प्रगति छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक ९१.५० र वित्तीय ९१.५१ प्रतिशत प्रगति छ ।

आयोगले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९६ र वित्तीय ९१ प्रतिशत प्रगति भएको जनाएको छ । आयोगका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक १ सय र वित्तीय ६९ प्रतिशत प्रगति भएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक ९० र वित्तीय ९३.१८ प्रतिशत प्रगति भएको छ ।

पशुपति क्षेत्र विकास कोषको भौतिक ८३.७ र वित्तीय ५४.५२ प्रतिशत उपलब्धि हासिल भएको आयोगले जनाएको छ । लुम्बिनी क्षेत्र विकास कोषको भौतिक १ सय र वित्तीय ९९.९९ प्रतिशत प्रगति छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक ९७.४ र वित्तीय पनि ९७.४ प्रतिशत नै प्रगति छ ।

रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक ७७.६७ र वित्तीय ७१ प्रतिशत उपलब्धि हासिल भएको आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । हुलाकी लोकमार्गको भौतिक १ सय र वित्तीय प्रगति ९७.४ प्रतिशत छ । उत्तर दक्षिण (कोशी) लोकमार्गको भौतिक १ सय र वित्तीय प्रगति ८७.३९ प्रतिशत छ ।

उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्गको भौतिक १ सय र वित्तीय प्रगति ९२.४ प्रतिशत छ । उत्तर दक्षिण (कर्णाली) लोकमार्गको भौतिक १ सय र वित्तीय पनि १ सय नै उपलब्धि छ । काठमाडौँ तराई–मधेस द्रुतमार्गको भौतिक १ सय र वित्तीय ९६.४३ प्रतिशत प्रगति छ ।

आयोगका अनुसार काकाकुल राजधानीको तिर्खा मेट्न उपयोगी मानिएको मेलम्ची खानेपानी आयोजनाको भौतिक ७४.७४ र वित्तीय प्रगति ४१.३८ प्रतिशत छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक ९५.०७ र वित्तीय प्रगति ९१.१४ प्रतिशत विवरण प्राप्त भएको योजना अधिकृत सोना श्रेष्ठले जानकारी दिइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *