भलिबल कोर्टमा भारत-पाकिस्तान भिडन्त

डिसी नेपाल
१७ मंसिर २०७६ १३:००

काठमाडौं। भारत र पाकिस्तान परम्परागत दुस्मन मुलुक हुन्। यी दुई दक्षिण एशियाली पावर हाउसबीच युद्धको मैदानमा गोलीमात्र चल्दैन, खेलकुदका मैदानहरुमा पनि भिडन्त हुने गर्छ। वास्ताविक युद्धको मैदान जस्तै खेलकुदको मैदानमा पनि भारत र पाकिस्तानबीच हुने भिडन्तले दुबै देशका जनताको राष्ट्रभक्तिको संवेदनशिलतालाई झल्काउने गर्छ। खेलको मैदानमा हुने हार जनताका लागि मुटुको टुक्रा चुँडिए जस्तै हुने गर्छ यी दुई मुलुकमा।

त्यसैले एक चर्चित भनाई छ, भारत र पाकिस्तानबीच हुने खेलकुदपछि टेलिभिजनहरुको विक्री बढ्छ। किनकी हार्ने टिमका घरेलु दर्शकहरुले टिभीमा आफ्नो टिमले हार्दै गरेको हेर्न नसकेर टेलिभिजन सेट फुटाल्छन्।मंगलबार काठमाडौंमा पनि भारत र पाकिस्तानबीचको युद्ध केही समयपछि शुरु हुँदैछ। त्यो युद्ध वास्ताविक युद्ध मैदान सियाचिन वा कश्मीरमा होइन, दशरथ रंगाशालास्थित भलिबल कोर्टमा हुनेछ।

दुबै देश सेमिफाइनलमा आ आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेर फाइनलमा पुगेका छन्। १३ औं दक्षिण एशियाली केलुकद प्रतियोगिताको पुरुष भलिबलतर्फ स्वर्ण पदकका लागि हुने यो खेल पदक भन्दा पनि एकअर्कालाई पराजित गर्ने कुराले भारत र पाकिस्तानका जनतालाई प्रभाव पार्नेछ।

हालै भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध तातो अवस्थामा छ। भारत र पाकिस्तानबीच पछिल्लो समयमा तनाव बढिरहेपछि भारत र पाकिस्तानका टिम आमनेसामने भएको यो दोस्रो पटक हो। यसअघि यसै वर्ष यूकेमा सम्पन्न क्रिकेट विश्वकपमा यी दुई देशबीच खेल भएको थियो। जसमा पाकिस्तान पराजित भएको थियो।

काठमाडौंको भलिबल कोर्टमा लण्डनको क्रिकेट पीचमा भएको हारको बदला लिने अवसर पाकिस्तानलाई जुरेको छ। जित्ने टिमले सागमा पुरुष भलिबलको स्वर्ण पदक जित्ने छ भने हार्नेले काश्य पदक जित्ने छ।

भारतले श्रीलंकालाई सेमिफाइलनमा पराजित गरेको थियो भने समूह चरणमा आयोजक नेपाल र बांगलादेशलाई पराजित गरेको थियो। उता पाकिस्तानले सेमिफाइनलमा बांगलादेशलाई र समूह चरणमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो। हालसम्मको प्रदर्शन हेर्ने हो भने दुबै टिम बलिया देखिएका छन्। यी दुईबीचको खेलमा पूर्वानुमान गर्न गाह्रो छ। दुबै टिम फिजिकलमा पनि स्ट्रोंग छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *