नेपाल भ्रमण वर्ष : लक्ष्य २० लाखको
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० जनवरी १ बुधबार औपचारिक रुपमा शुरु हुँदैछ। यो वर्षलाई नेपालले ‘तीन २०’ संयोग बनाउनले लक्ष्य लिएको छ । अथवा भ्रमण वर्ष २०२० को लक्ष्य २० लाख पर्यटक। नेपाल भ्रमण वर्ष घोषणा भएपछि नै सरकारले यसलाई सफल पार्न सक्रियता देखाएको छ ।
बुधबार काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्दैछिन्। यस अवसरमा ४ जना विदेशी पर्यटनमन्त्रीहरु काठमाडौं आइपुगेका छन्।
पर्यटन उद्योग प्रचार तथा प्रवद्र्धनमा आधारित हुन्छ । त्यसैले सरकारले भ्रमण वर्षलाई सफल बनाउन प्रचार तथा प्रवद्र्धनका कार्यक्रमलाई नै प्राथामिकता दिएको छ। गएको जुन र जूलाईमा बेलायतमा आयोजना गरिएको आईसीसी विश्वकप क्रिकेटदेखि यूएईमा रहेको सबैभन्दा ठूलो भवन बुर्जुखलिफासमेतको उपयोग भ्रमण वर्ष २०२० लाई सफल पार्न उपयोग गरिएको छ। गएको संविधान दिवसका अवसरमा बुर्जुखलिफामा नेपालको झण्डा ‘लाइटिङ’ गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचार र प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिइएको बताए। उनले पर्यटनको विकास नै नेपालको विकासको मेरुदण्ड हुन सक्ने भएकाले सरकारले सोहीअनुसार भ्रमण वर्षलाई सफल बनाएर आगामी दिनबारे पनि दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।
नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटक आएका थिए । सन् १९९८ मा ५ लाख पर्यटकले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०१९ को १० महिनामा कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल आएका छन् जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो ।
पर्यटकको संख्यामा वृद्धि भए पनि पर्यटकले नेपाल आएर गर्ने खर्चको परिमाण भने तुलनात्मक रुपमा बढ्न सकेको छैन । नेपाल आउने पर्यटकको यहाँ बसाइ लम्ब्याउन नसकिएका कारण उनहिरुको खर्च बढ्न नसकेको हो ।
यहाँ आउने पर्यटकहरु छिटै फर्किने भएका कारणपर्यटकको संख्या बढे पनि त्यसबाट हुने लाभ बढ्न सकेको छैन । सरकारले आगामी २ वर्षमा एक जना पर्यटकले १ दिनमा गर्ने खर्च ६५ डलर पुर्याउने र एक पर्यटकको औसत नेपाल बसाइ समय १४ दिन पुर्याउने लक्ष्य लिएको छ । १ जना पर्यटकले १ दिनमा ५४ डलर खर्च गर्छन् र औसत नेपाल बसाइ १२ दिनको छ ।
यसअघि पर्यटन वर्ष मनाइरहँदा देशमा राजनीतिक स्थिरता थिएन । राजनैतिक अस्थिरताका कारण देशमा विदेशी लगानीकर्ताहरुजतै पर्यटकसमेत आउन हिच्किचाउने अवस्था थियो । तर, अहिले त्यो अवस्था छैन । स्थिर सरकार भएका कारण पर्यटकलाई विश्वासमा लिन सहज हुने अवस्था अहिले छ । यो अवसरलाई सही तरिकाले सदुपयोग गर्न सकेमा पर्यटकको संख्या बढाउन सकिने पर्यटन वर्ष सचिवलयका कार्यक्रम प्रबन्धक रोहिणी खनाल बताउँछन् ।
नेपाल पर्यटन बोर्ड पनि भ्रमण वर्षको लक्ष्य पूरा गर्न तीब्र रुपमा काम अगाडि बढाइएको बताउँछ । पर्यटकको संख्या न्यून हुने मौसममा पनि पर्यटकलाई आउन प्रोत्साहित गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । यसका लागि सन् २०१९ भित्र नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको काम सम्पन्न गरिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत समयमै संचालनमा आउने अपेक्षा गरिएको छ ।
भ्रमण वर्ष सफल पार्न सरकारले पर्याप्त बजेट समेत विनियोजन गरिसकेको जनाएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङ निजगढ विमानस्थल नेपालको पर्यटन उद्योगका लागि ‘ब्रेकथ्रु’ नै हुने बताउँछन् । उनले भने, ‘निजगढ विमानस्थल बन्यो भने, त्यसले भारतबाट अरब देशमा जाने मानिसहरुसमेत नेपालहुँदै जानेछन्, आउन पनि उनीहरुलाई त्यतैबाट सजिलो हुनेछ । उत्तर भारतमा अन्तर्राष्ट्रिय विमानस्थल नभएको फाइदा निजगढबाट लिन सकिने सम्भावना प्रचुर छ ।’
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तीनै तहका सरकारहरुमात्र क्रियाशील छैनन्, राज्यका सबै अंग क्रियाशील छन्। नेपाली सेनाले पनि भ्रमण वर्ष लक्षित कार्यक्रम गर्दैछ । हालै सेनाले पत्रकार सम्मेलन गरी भ्रमण वर्ष लक्षित कार्यक्रमहरु १२ महिना सञ्चालनमा आउने जानकारी दिएको छ ।
सेनाले ‘एभेन्चर टुरिज्म’ केन्द्रित कार्यक्रम गर्ने जनाएको छ । यसमा प्याराग्लाइडिङ, हाई अल्टिट्यूड म्याराथन, रक क्लाइम्बिङ, हिमाल आरोहण र साइकिलिङका कार्यक्रम समावेस गरिएको छ । यस्तै देशैभरका स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका पर्यटकीय सम्भावनाका क्षेत्रको प्रचार र प्रवद्र्धन गरिरहेका छन् । जसले बाह्यमात्र नभएर आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउने भर्मण वर्ष २०२० सचिवालयका निर्देशक रोहिणी खनालले बताए ।
यस्तै पर्यटनसँग सम्बन्धित ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच पनि भ्रमण वर्षलाई लक्षित गर्दै ११ बुँदे सम्झौता भइसकेको छ । सम्झौतापत्रमा भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा पर्यटकलाई नेपाल भित्र्याउनका लागि टानले गर्ने कामहरु र त्यसलाई सघाउने सरकारले के–के गर्न सक्छ भन्ने विषय उल्लेख छ । टानका अध्यक्ष सुवेदीले भ्रमण वर्षमा आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन अनुरोध गरेको जनाएका छन् । निजी क्षेत्रको सहभागिताले भ्रमण वर्ष सफल बनाउन ठूलो सहयोग हुने अध्यक्ष सुवेदीले विश्वस व्यक्त गरे ।
भ्रमण वर्षलाई सफल पार्न निजी क्षेत्रले पनि सक्रियता बढाइरहेको छ । पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न संघसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । होटल एसोसिएसन अफ नेपालले २०२० सालभरी होटलका कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । विदेशी पाहुनाको हकमा लागू हुने यो अफर आफ्ना सबै दस्यहरुलाई लागू गर्न निर्देशन दिइसकेको हानले जनाएको छ ।
हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी करीब दुई हजार होटल आबद्ध छन् । होमस्टे एशोसिएसनले पनि भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । देशका ५७ जिल्लामा ६ सय भन्दाबढी होमस्टे सञ्चालनमा रहेका छन् ।
सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ ।
होटल व्यवसायीले अहिलेकै अवधिमा २५ लाख पर्यटकलाई धान्न सकिने बताएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले जोड दिने गरेका छन् ।
सरोकारवालाहरुले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियान संचालन गर्नुपर्ने उनीहरुको सुझाव छ ।
Facebook Comment