नयाँ वर्ष तथा टोपी दिवसमा कलाकारको शुभकामना : दीपक भन्छन्, –‘म त के राम्रो छु र टोपी हो राम्रो’
काठमाडौं। आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ। नेपाल भ्रमण वर्ष २०२० पनि आजदेखि औपचारिक शुभारम्भ हुँदैछ भने अन्तर्राष्ट्रिय टोपी दिवस पनि आज मनाईदै छ।
विश्वभरमा रहेका नेपालीहरुले अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा सामाजिक सञ्जालबाट शुभकामना साटासाट गरिरहेका छन्।
नेपाली कलाकारहरु पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिईरहेका छन्। कोही कलाकारहरुले अग्रेजी नयाँ वर्षको शुभकामना दिएका छन्, कोहीले नेपाल भ्रमण वर्षको शुभकामना दिएका छन्। त्यस्तै कोहीले टोपी लगाएको तस्वीर राख्दै टोपी दिवसको शुभकामना दिएका छन्। धेरै कलाकारहरु भने एकमुष्टमा शुभकामना दिएका छन्।
वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठसँगको तस्वीर पोष्ट गर्दै अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र टोपी दिवसको शुभकामना दिएका छन्। उनले पोष्ट गरेको तस्वीरमा दुवैले शिखमा ढाका टोपी ढल्काएका छन्।
निर्माता तथा कलाकार दीपकराज गिरीले वर्षा राउतसँग आफू टोपीमा रहेका तस्वीर शेयर गर्दै ‘म त के राम्रो छु र है मेरो त टोपी नै हो राम्रो’ लेखेका छन्।
त्यस्तै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले दीपकराजसँगको तस्वीर पोष्ट गर्दै एकमुष्ट शुभकामना दिएकी छिन्। अन्य थुप्रै कलाकारहरुले पनि सामाजिक सञ्जालबाट शुभकामना दिइरहेका छन्।
Facebook Comment