२९ दिनको शिशुसहित ६ डिग्री तापक्रममा रातभर सकडमा प्रदर्शन

डिसी नेपाल
१६ पुष २०७६ १७:४७

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले हालै विवादास्पद नागरिकता ऐन संशोध गरेपछि त्यसको विरोधमा भारतमा लगातार विरोध भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतमा भारतको दिल्लीमा एकातिर हर्षोल्लास रह्यो भने अर्कातर्फ कठ्याङग्राउने चिसोमा रातभरी नागरिकता ऐन संशोधनको विरोधमा प्रदर्शन भए ।

दिल्लीको शाहीन बाग क्षेत्रमा लगातार प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘न्यू इयर इभ’ मा दिल्लीमा भएको प्रदर्शनका भावुक तस्वीरले भारतमा बुधबार हंगामा भएको छ । दिल्लीको शाहीन क्षेत्रमा दुई हप्तादेखि लगातार विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यहाँ हजारौंको संख्यामा मानिसहरुले लगातार विरोध प्रदर्शन गरिरहेको आजतकले उल्लेख गरेको छ । यही प्रदर्शनका बीच मंगलबार रातीको एक भावुक तस्वीर सार्वजनिक भएको छ । दिल्लीमा यतिबेला निकै चिसो बढेको छ ।

मंगलबार राती पनि निकै चिसो थियो । तापक्रम ६ डिग्री सेल्सियसभन्दा तल झरेको थियो । यहीबीचमा एक महिला २९ दिनको नवजात शिशुसँगै प्रदर्शनमा सहभागी भएको तस्वीर बुधबार बिहानै भारतीय सञ्चार माध्यमहरुमा सार्वजनिक भयो । प्रदर्शनकारीहरुले मंगलबारको रात सडकमै बिताएका थिए । हजारौंको भीडमा एक आमा पनि थिइन् । आफ्नो २९ दिनको शिशु बोकेर पूरा रात सडकमा बिताएकी उनले नागरिकता ऐन संशोधनका विरोधमा प्रदर्शन गरिरहिन् ।

शाहिन बागमा प्रर्दशनकारीहरुले नागरिता ऐन संशोधनकै विरोध गरेर नयाँ वर्षलाई स्वागत गरे । यहीबीचमा रिहाना खातुन पनि आफ्नो नवजात शिशुसँगै प्रदर्शनमा उत्रिएकी हुन् । उनका श्रीमान दिल्ली एमसीडीमा काम गर्छन् । उनका ५ सन्तान छन् । तीन छोरी र २ छोरा । उनी १७ डिसेम्बरदेखि नै प्रदर्शनमा दैनिक सहभागी भइरहेकी छन् । उनले आफ्ना श्रीमान कामबाट फर्केपछि आफु प्रदर्शनमा सहभागी हुने गरेको बताउँछिन् ।

विरोध प्रदर्शनको यो भावुक रुप मात्र छैन भारतमा । अब कानुनी संकट पनि देखिने भएको छ । दक्षिणी राज्य केरलको विधानसभाले मंगलबार नागरिकता ऐन संशोधन लाई अस्वीकार गर्ने प्रस्ताव पारित गरेको छ । जसका कारण अब केरल र केन्द्र सरकारबीच टकराव शुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यसअघि नै यो ऐन आफ्नो राज्यमा लागु नहुने बताइसकेकी छन् भने त्रिपुरा, मणिपुर र असमले पनि त्यस्तै निर्णय गरेका छन् ।

उत्तर प्रदेशमा यो ऐनको विरोधमा भएका प्रदर्शनका क्रममा प्रहरीले निकै दमन गरेको छ । उत्तरप्रदेशमा मात्र कम्तिमा २० जना प्रदर्शनकारी मारिएका छन् । प्रहरीले करिब ११ हजार मानिसलाई पक्राउ गरेको छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा त्यहाँ मुस्लिमहरुको सम्पत्तिमाथि प्रहरीले कब्जा गरेकोसमेत भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । सो नागरिक ऐन संशोधनले भारतमा रहेका अल्पसंख्यकलाई झन समस्या पार्ने भन्दै त्यसको विरोध भइरहेको छ । संशोधनमा पाकिस्तान, बांगलादेश र अफगानिस्तानबाट आउने गैह्रमुस्लिमलाई मात्र नागरिकता दिने प्रावधान समावेस गरिएको छ । प्रमुख विपक्षी पार्टी काँग्रेसलगायतका दलहरुले यो ऐन संशोधन संविधान विरोधी भएको समेत बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *