कोशीकरिडोर निर्माणको काम तीव्र

डिसी नेपाल
१६ पुष २०७६ २१:१५

खाँदबारी । सङ्खुवासभाका स्थानीय खोलाबाट उत्पादन भएको विद्युत्लाई एकै ठाउँमा सङ्कलन गर्ने उद्देश्यले निर्माण थालिएको २२० केभी क्षमताको कोशी करिडोर अन्तर्गतका विद्युत् प्रसारणलाइनको काम धमाधम भइरहेको छ ।

विद्युत् प्राधिकरणको लगानीमा सुनसरी जिल्लाको इनरुवादेखि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारसम्मको १ सय ५ किमिको काम तीव्र गतिमा भइरहेको छ । कोशी करिडोर प्रसारणलाइन प्रदेश १ को सङ्खुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण भइरहेको छ । इनरुवादेखि तुम्लिङटारसम्म ३ सय २१ वटा टावर निर्माण भइरहेका छन् ।

त्यसमा सङ्खुवासभाको दक्षिणी सिमाना टुटे देउरालीदेखि तुम्लिङटारसम्मको २९.५ किमि लम्बाइमा ९७ वटा टावर निर्माणको ६० प्रतिशत काम सकिएको कोशी करिडोरका सहायक प्रबन्धक भूपेश श्रेष्ठले जानकारी दिए ।

सङ्खुवासभाको टुटे देउरालीदेखि तुम्लिङटारसम्मको ९७ टावरमध्ये अहिलेसम्म ५४ टावर निर्माण भइसकेको छ भने २७ टावरको फाउन्डेसन खनिसकेको छ । बाँकी १६ टावर निर्माणको काम चाँडै थालिने र चैनपुरको बानेश्वर र तुम्लिङटारमा सवस्टेसनको काम भइरहेको सहायक प्रबन्धक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार अवको पाँच महिनाभित्र सवस्टेसनको काम सकिनेछ । जिल्लाको माया खोला, हेवा खोला र इखुवा खोलालगायत स्थानीय खोलानालाबाट उत्पादन भएको विद्युत्लाई एकै ठाउँमा सङ्कलन गरी केन्द्रीय प्रसारणलाइनमा जोड्ने उद्देश्यले कोशी करिडोर प्रसारण लाइन बनाइएको हो । विद्युत् प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता (पिपिए) यसअघि नै गरिसकेको छ । प्राधिकरणले प्रसारणलाइन निर्माण गर्न नसकेमा स्थानीय खोलाबाट उत्पादन भएको विद्युत् त्यत्तिकै खेर जाने अवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *