हुम्लामा तेस्रोपटक हिमपात, हवाइ उडान अवरुद्ध

डिसी नेपाल
१७ पुष २०७६ २२:२१

सिमकोट । हिमाली जिल्ला हुम्लामा पुनः हिमपात शुरु भएको छ । बिहिबार बिहानदेखि हिमपात शुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई सेवासमेत अवरुद्ध भएको छ । हिमपातका कारण अत्यधिक चिसोले बजारमा चहलपहल कम देखिन थालेको छ ।

जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिका हिमपात भएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पानी पर्न थालेको सर्केगाड गाउँपालिका वडा नं १ का कविन्द्र शाहीले बताए । बुधबार रातिबाट मौसम फेरबदल भएसँगै बिहानलेखि हिमपात हुँदा चिसोले वृद्धावृद्धा अपाङ्गता र बालबालिका बढी प्रभावित भएका छन् । सदरमुकाम सिमकोटमा रहेका होटल पसल कमै खुलेका छन् ।

नाम्खा अधिकांश बस्तीमा हिमपातले गाईवस्तुलाई घाँसपात गर्न समेत समस्या भएको पाइएको छ । चिसोले घरभित्रै आगो बालेर ताप्दै बस्नुपर्ने बाध्य भएको नाम्खा गाउँपालिका–१ का स्थानीय प्रकाश लामाले बताए ।

दक्षिण क्षेत्रका स्थानीयवासी खुशी

जिल्लाको दक्षिण क्षेत्रका सर्केगार्ड, ताजाकोट, अदानचुली, चङ्खेली गाउँपालिका स्थानीयवासी खुशी देखिएका छन् । पानी परेपछि कात्तिक र मङ्सिर खेतबारीमा छरेको जेठ महिनामा पाक्ने बाली गँहु, जौं, उवा राम्रो हुने भन्दै किसान हर्षित छन् । “यो वर्ष समयमै पानी परेको छ, अन्नबाली राम्रो हुने भयो”, चङ्खेली गाउँपालिका–५ का स्थानीय सुरेन्द्र शाहीले बताए । उनले दक्षिणी क्षेत्रका अधिकांश स्थानीयवासीका मुहार नै खुशी देखिन थालेको जानकारी दिए ।

नाम्खा गाउँपालिका सकस

उत्तरी चीनको सीमासँग जोडिएको नाम्खा गाउँपालिकाको अधिकांश बस्तीलाई चिसोले सकस भएको छ । घरभन्दा बाहिर गएर गाईवस्तुलाई घाँस खुवाउन सकस भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । नाम्खा गाउँपालिका हल्जी, जाङ, तिल, चाला, यारी, मुचु, केर्मी याल्वाङ, च्यादुक, याङ्गार, खगाँलगाउँ, हेप्का, टाङ्गिनलगायतका बस्तीमा समस्या भएको अध्यक्ष लामाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *