अमेरिकाले मारिदियो इरानी सैनिक कमाण्डर

काठमाडौं। शुक्रबार बिहान इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणमा इरानका शक्तिशाली सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीलाई मार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् । जनरल सुलेमानीको मृत्यु भएको इरानको आधिकारिक मिडियाले पुष्टि गरेका छन् ।
‘जनरल सुलेमानीले सक्रिय रुपमा इराक र यस क्षेत्रमा अमेरिकी कुटनीतिज्ञ र अन्यको हत्या गर्ने योजना बनाइरहेका थिए’ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एक वक्तव्यलाई उद्धृत गर्दै अमेरिकी मिडिया न्यूयोर्क टाइम्सले लेखेको छ ‘जनरल सुलेमानी र उनको फोर्स सयौं अमेरिकीहरुको हत्या र हजारौंलाई घाइते बनाउन जिम्मेवार छन् ।’
‘यो आक्रमण भविष्यमा हुन सक्ने इरानी आक्रमण योजनालाई निरुत्साहित गर्न लक्षित छ’ पेन्टागनको वक्तव्यमा अगाडि लेखिएको छ ‘अमेरिकाले विश्वभर आफ्ना नागगरिक र आफ्नो उद्देश्यको रक्षा गर्न आवश्यक सबै किसिमका कदमहरु उठाउने कामलाई निरन्तर जारी राख्नेछ ।’ यो आक्रमणपछि यसअघिदेखि नै तनावग्रस्त रहँदै आएको इरान र अमेरिकाको सम्बन्ध अझै बिग्रिने अनुमान गरिएको छ ।
यो आक्रमणअघि बिहीबार अमेरिकी रक्षा सचिव मार्क टी एस्परले इरानी फोर्सले इराक र सिरियामा अमेरिकी बेस वा व्यक्तिहरुमाथि थप आक्रमणको योजना बनाएको पाइएमा अमेरिकी सेनाले इरानी फोर्समाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । एस्परले भनेका थिए ‘हामीले आक्रमणको संकेत पाएमा अमेरिकी सेना र अमेरिकी नागरिकको रक्षा गर्न प्रतिआक्रमण गर्नेछौं ।’ इरानमा सरकारी टेलिभिजनले जनरल सुलेमानीको मृत्युको समाचार दिन नियमित कार्यक्रम नै रोकेको थियो ।
Facebook Comment