सुदूरपश्चिममा हिमपात, हिँउसँग रमाउँदै स्थानीयवासी
डाेटी। जिल्ला सदरमुकाम सिलगढीमा २५ वर्षपछि हिमपात भएको छ। सदरमुकाममै हिमपात भएपछि स्थानीयवासी हिउँमा रमाइरहेका छन्। पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुर क्षेत्रका स्थानीयवासी हिउँ खेल्न जिल्ला सदरमुकाम सिलगढी आइरहेका छन्। हिउँमा चिप्लेटी खेल्ने तथा हिउँमा रमाउन आएकाहरुका कारण जिल्ला सदरमुकाम सिलगढीमा अहिले चहलपहल बढेको छ। सदरमुकाममा मात्रै करीब आधा फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
हिमपातसँगै जिल्लामा अहिले हल्का वर्षसमेत भइरहेको छ। हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन निकै प्रभावित बनेको हो। बिहीबार रातिदेखि भइरहेको हिमपातका कारण सुदूरपश्चिमका डोटीसहित अन्य पहाडी र हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ। जिल्लाका लेकाली भेगमा बिहीबारदेखि भारी हिमपात भइरहेको हो।
हिमपातका कारण एकाएक चिसो बढेपछि स्थानीयवासीलाई घर बाहिर निस्किनसमेत मुस्किल परिरहेको सिलगढीका स्थानीयवासी सिद्धराज जोशीले बताए। भारी हिमपातका कारण डोटीका लेकाली बस्तीहरु अहिले हिउँले सेताम्य भएका छन्।
जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदारधुरा, उदैनीलगायतका उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीय दीपकबहादुर खड्काले बताए। उनका अनुसार ती क्षेत्रमा बाक्लो हिमपातका कारण स्थानीयवासीले गाईवस्तुसमेत चराउन गोठ बाहिर निकाल्न सकेका छैनन्। त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब तीन फिट जति हिउँ परेको नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल रापजुरले जनाएको छ।
त्यस्तै अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गमा पनि हिमपात शुरु भएको छ। बाक्लो हिमपात जारी रहे राजमार्ग अवरुद्ध हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले जानकारी दिनुभयो । यस वर्ष डोटीमा तेस्रोपटक हिमपात भएको हो। बाक्लो हिउँ परेपछि यहाँका पानी नलाग्ने उच्च लेकाली क्षेत्रमा खेती सप्रिने आशामा किसान खुशी भएका छन्।
बाक्लो हिमपात भएपछि खप्तड आसपास क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन्। हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्ध तथा बालबालिकामा ज्वरो, निमोनिया, रुघाखाकीजस्ता समस्याले सताएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा ज्योति पाण्डेले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालमा कम्तीमा पनि ३० सम्म बिरामी भर्ना भएका छन्।
हिमपातले चिसो बढेकाले घर बाहिर ननिस्कन तथा झोलिलो खानेकुरा खान चिकित्सकले सबैमा सल्लाह दिएका छन् । त्यस्तै सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा तथा दार्चुला जिल्लामा बिहीबार रातिदेखि भारी हिमपात भइरहेको छ। हिमपातकै कारण बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार दिउँसोदेखि फेरि हिमपात भएको हो। रासस
Facebook Comment