कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा

डिसी नेपाल
१८ पुष २०७६ १३:५४

काठमाडौं। कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको छ।  ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाइमस्टोन नामको ढुंगाको सहज आपूर्ति हुन नसक्दा ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका हुन्।

चुनाको मात्रा बढी भएको ब्ल्याक लाइमस्टोन सहज उपलब्ध हुन नसक्दा ढुंगाको मूर्ति बनाउने व्यवसायमा नयाँ पुस्ता त प्रवेश गर्न सकेका छैनन् नै पहिले देखिनै पेशामा लागेकाहरुले पनि व्यवसायबाट हात झिक्दै गएका छन्। चन्द्रागिउर पहाडको फर्पिङ, टिस्टुङ क्षेत्रमा पाइने ब्ल्याक लाइमस्टोन को किनबेच नै नभएपछि ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका हुन्।

ढुंगाको मूर्ति व्यवसायमा आवद्ध कलाकारहरु २०४६ साल पछि ढुंगाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाएको भएपनि मुलुक संघीयता गएपछि कच्चा पदार्थकै अभाव झेल्नु परेको गुनासो गर्छन्।

आकार हेरेर ढुंगा २ सय देखि २ लाख रुपैयाँसम्म पर्छ। त्यसलाई कुँदेर बनाउने मूर्तिको पनि आकार हेरेर १ लाख ५० हजार देखि १५, २० , २५ लाख र अझै बढी पनि पर्ने हुन्छ। एउटा सामान्य आकारको भैरवको मूर्ति बनाउन ६ महिना लाग्ने र सो को बजार मुल्य १ लाख ५० हजार रुपैयाँ पर्छ।

विशेष गरेर स्थानीय सरकार अनुसारका फरक फरक नियम कानुन र एक अर्काबीच समन्वयको अभावका कारण ढुंगाको अभाव भएको कलाकार प्राज्ञ धर्मराज शाक्यको भनाइ छ। हस्तकला महासंघका पूर्व अध्यक्ष समेत रहेका कलाकार शाक्यले आफ्नै बारीको ढुंगा पनि जनताले बेच्न नपाउनु तथा कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने व्यवसाय नै संकटमा पर्नु दुखद भएको बताए।

ढुंगाको मूर्ति बनाउनका लागि पहिले हात्तिवनको ग्वाल्ठाबाट ढुंगा ल्याउने गरिन्थ्यो। पछि फर्पिङको खार्पाबाट ल्याउन थालिएको थियो। अहिले सो स्थानबाट पनि ढुंगा निकाल्न दिईएको छैन। गुणस्तरीय ढुंगा नपाएपछि कम गुणस्तरको ढुंगाबाट मूर्ति बनाउँदा स्तरीय नहुने र समग्र व्यवसाय नै बद्नाम हुने जोखिम पनि बढेको उनले बताए।

ढुंगा नपाएका कारण मूर्ति बनाउने पेशा गर्दै आएका कलाकारहरु पेशा नै छोडेर अन्यत्र जाने क्रम बढेकाले सिंगो व्यवसाय नै संकटमा पर्ने भन्दै उनले ढुंगाको मूर्ति बनाउने परम्परागत कला र संस्कृति नै लोप हुने खतरा बढेकोमा चिन्ता व्यक्त गरे।

विगतको तुलनामा स्वेदशी बजार माग घटेपछि विदेशमा अझै पनि नेपाली कला र संस्कृति झल्किने ढुंगाको मूर्तिको माग बढ्दो रहेकाले यसको विकास र प्रर्वद्धनका लागि छुट्टै अध्ययन अध्यापन गर्ने गरी स्वायक्त संस्था गठन गर्नुपर्ने तर्क कलाकार शाक्यको छ।

त्यसैगरी व्यवसायीक तालिम र प्रशिक्षण दिनुपर्ने तथा धर्म र संस्कृतिमा आधारित कला भएकाले धर्म दर्शन पठाउने व्यवस्था मिलाउनुको साथै ढुंगाको मूर्ति मात्रै बनाउने छुट्टै औद्योगिक ग्राम बनाउनुपर्ने सुझाव उनको छ।

हस्तकला महासंघका अनुसार मुलुकभर १ हजार जना कलाकारहरु ढुंगाको मूर्ति बनाउने काममा संलग्न रहदै आएका छन्। तर यो पेशामा नयाँ पुस्ता आकर्षित हुन भने सकेका छैनन्। पुर्खौनी पेशाको रुपमा मात्रै पुस्तान्तरण हुदै आएको मूर्तिकलाको विकास र विस्तारका लागि सरकारले पहल नगर्ने हो भने यो व्यवसाय केही विशेष परिवारमा मात्रै सीमित रहने र अन्तत लोप हुदै जान सक्ने खतरा देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *