पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत

डिसी नेपाल
१८ पुष २०७६ १७:२५

काठमाडौं । पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताए । केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा आयोजना कार्यालयले काम गरिरहेको बताए । पाँचथर आयोजना कार्यालयले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर गरेर ३ सय ८६ किलोमिटर, काभ्रे आयोजना कार्यालयले खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली रामेछाप, काभ्रे र सिन्धुपाल्चोक गरी ३ सय ३५ किलोमिटर र गोरखा आयोजना कार्यालयले नुवाकोट, धादिङ, गोरखा र लमजुङ गरी २ सय ६० किलोमिटर सडक निर्माणको काम गरिरहेको उनले बताए ।
त्यसैगरी, पर्वत आयोजना कार्यालयले कास्की, पर्वत, बागलुङ गरी २ सय ४५ किलोमिटर र दैलेख आयोजना कार्यालयले रुकुम पूर्व, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी ४ सय १० किलोमिटर काम गरिरहेको निर्देशक केसीले बताए ।

आर्थिक वर्ष २०७९÷०८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३ सय ७७ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ४ सय ६२ किलोमिटर अन्य आयोजनाहरुले नै पूर्ववत रुपमा कालोपत्रे गरिसकेका छन् । कुल ८ सय ३९ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेकोमा ६ सय ३७ किलोमिटर सडक कालोपत्रे गर्न यो आर्थिक वर्षमा ठेक्काहरु भइसकेको निर्देशक केसीले बताए । उनका अनुसार ९९ किलोमिटर ग्राभेल सडकको ठेक्का जारी रहेको छ भने ४ सय ३ किलोमिटर सडकको ट्रयाक खुलेर स्तरोन्नतीको ठेक्का हुँन बाँकी रहेको छ ।

वि.स.२०५८ सालको राष्ट्रिय नीतिमा पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा परिकल्पना गरिएपनि २०६४÷०६५ मा आयोजना कार्यान्वयन भएको थियो । कुल २६ जिल्लाका २ सय १५ बस्ती र १ करोड मध्यपहाडी क्षेत्रका जनता लाभान्वित हुने अपेक्षा आयोजनाले गरेको छ । पाँचथरको चियो भञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर निर्माणका लागि यो आर्थिक वर्षमा १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *