मौसम खराबीका कारण ९ अन्तर्राष्ट्रिय उडान डाइभर्ट
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली बनेपछि शुक्रबार बिहानैदेखि नेपालको मौसम खराब छ। मौसममा आएको परिवर्तनले वर्षा, हिमपात र चिसोमात्र भएको छैन डोमेस्टिक तथा इन्टरनेशनल उडानहरु पनि प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार साँझसम्म ९ वटा अन्तर्राष्टिय उडान डाएभर्ट भएका छन्। एक उडान त स्थगित नै भएको छ। डोमेस्टिक उडानमा पनि प्रतिकुल प्रभाव परेको छ। केही उडानहरु स्थगित र केही डाएभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्र लालकर्णले ९ वटा अन्तर्राष्ट्रिय उडानहरु डाइभर्ट भएको डिसी नेपाललाई जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘डाइभर्ट भएका केही विमानलाई भारतको लखनउ पठाइएको छ, उता चीनबाट उडेका विमानहरु चीनतर्फ नै फर्काएको छ। थाइ एयरवेजको विमान पनि चीन डाइभर्ट गरिएको छ।’ उनका अनुसार ५ वटा विमानलाई भारत र्डाभट गरिएको छ। उता ४ वटा चीनतर्फ डाइभर्ट गरिएको छ। यस्तै भारतबाट उडानका लागि तयार भएको इण्डिगोको उडान नै स्थगित गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरु अवतरण गर्न सक्ने अवस्था नरहे भारतको लखनउ डाइभर्ट गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे एडभाइजरी जारी गर्दै आगामी २४ घण्टामा पनि मौसममा सुधार आउने सम्भावना कम रहेको भन्दै सचेत रहन भनेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
शुक्रबार राती : देशको पश्चिमी भू–भागमा आंसिकदेखि सामान्य बदली साथै मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ। पश्चिमका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
शनिबार दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र देशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
शनिबार राती : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
आइतबार दिउँसो : देशको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने साथै पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। मध्य तथा पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
आइतबार राती : देशको पश्चिमी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
Facebook Comment