तीन वर्षभित्रै प्रदेशका सबै घरमा खानेपानी पुग्छ : मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
१८ पुष २०७६ २०:५७

घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्रै प्रदेश नं ५ को प्रत्येक घर, विद्यालय र सार्वजनिक क्षेत्रमा खानेपानी पुग्ने बताएका छन् ।

उनले प्रदेश सरकारले सबैको घरमा पानी जसरी पनि पु¥याउन अभियान थालेको बताए । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३औँ वार्षिक उत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय पानीको अभावको कारण सरसफाइमा चुनौती देखिएको हुँदा सरकारले पानी उपलब्धताको लागि अभियान थालेको पनि जानकारी दिए । “हामीले प्रदेशका सबै सामुदायिक विद्यालयमा शौचालय बनाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेका छौँ ।” उनले भने, “प्रत्येक विद्यालयमा छात्रछात्राको लागि अलगअलग शौचालय बन्न थालेका छन् तर पानीको अभावले शौचालय उपयोगमा समस्या आएको देखिएको छ ।”

कार्यक्रममा बोल्दै उहाँले युवालाई देशमै स्वरोजगारका ढोकाहरु खोज्न आग्रह गरे । उनले देशमा हुने स्वरोजगारका कामलाई सानातिना भन्दै काम नगरेर युवा खाडीको तातोघाममा जस्तौसुकै काम गर्न जानु दुखद् भएको भन्दै चिन्ता व्यक्त गरे । उनले हाम्रो गाउँशहरमा कपाल काट्ने, तयारी कपडा बिक्री गर्ने, मिठाइ बनाउने, कपडा सिलाउने, भाडा बनाउने, फलफूल बेच्ने, साइकल, मोटरसाइकल बनाउनेलगायत काम छिमेकी देशबाट आएर अरुले गरिरहेको तर यहाँका युवाले त्यसलाई कामै नठानेको धारणा व्यक्त गरे ।

देशभित्रै दैनिक नगद कमाउने कामलाई युवाले गर्न नमाने भन्दै आमसञ्चार माध्यमले अब युवालाई सामाजिक चेनता विस्तारको काम गर्न आग्रह गरे । विसं २०६४ मा स्थापना भएको गणतन्त्र राष्ट्रिय दैनिकले सामुदायिक विद्यार्थीलाई न्यानो कपडा, झोला, छात्रालाई स्यानिटरी प्याड वितरण गरेको थियो भने स्वरोजगारमा लागेर राम्रो काम गरिरहेका युवालाई सम्मानसमेत गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *