सुदूरपश्चिमका ७ जिल्ला जोड्ने भीमदत्तराजमार्ग १२ घण्टापछि सुचारु
काठमाडौँ । हिमपातका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ।
शुक्रबार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए।
सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि आज बिहानदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।
हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा शुक्रबार रातिदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी पोष्ट बुडर डोटीले जनाएको छ।
डडेल्धुराअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँ खर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिए ।
त्यस्तै हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा, बैतडी जोड्ने दशरथ चन्द राजमार्ग पनि सञ्चालन भएको छ।
हिमपातका कारण उक्त राजमार्गमा रोकिएका सवारी साधन तथा यात्रुहरु राजमार्ग सञ्चालन भएपछि अहिले आफ्नो गन्तव्यतिर लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ।
त्यसैगरी बाक्लो हिमपातले क्षति गरेका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ।
हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन्।
बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमको दिपायलस्थित राजपुर कार्यालयले जनाएको छ।
अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनका लागि शुक्रबारदेखि नै कर्मचारी खटिएको भए पनि हिमपातका कारण सञ्चालन गर्न नसकिएको सो कार्यालयका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए ।
फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाका सञ्चारकर्मीले आफना सञ्चार प्रकाशन तथा प्रसारण केन्द्रमा समाचार पठाउन सकिरहेका छैनन्।
त्यस्तै इन्टरनेट सेवा अवरुद्ध भएपछि शुक्रबार दिउँसो डोटीमा बैंकिङ कारोवारसमेत प्रभावित भएको थियो।
इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोवार बन्द भएपछि सेवाग्राही रित्तो हात फर्किएका थिए । उता निजी कम्पनीको वल्डलिङ्क तथा सुबिसुद्वारा वितरित इन्टरनेट सेवा र एनसेलको फोन सेवा भने सञ्चालन रहेको छ।
उक्त कम्पनीका नेट जडान भएका बैंकहरुमा भने शुक्रबार कारोवार भएको दिपायल पिपल्लाका स्थानीयवासी किरण भण्डारीले जानकारी दिए ।
हिमपातका कारण डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा पटक–पटक इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ।
Facebook Comment