पाकिस्तानस्थित गुरुद्वाराको झगडाले भारत–पाकिस्तान तनाव
नयाँ दिल्ली (एजेन्सी) । पाकिस्तानको पञ्जावस्थित शिखहरुको एक परिवत्र धार्मिक स्थल गुरुद्वारामा भएको झगडाले भारत र पाकिस्तानबीच तनाव उत्पन्न गराएको छ । ननकाना साहिब गुरुद्वारामा शुक्रबार बेलुका दुई समूहबीच झडप भएको थियो । सो झडपको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।
यो झडपबारे भारतमा निकै प्रतिक्रिया उत्पन्न भएको छ । भारतीय सञ्चार माध्यमहरुले यो विषयलाई निकै उचालेका छन् । विभिन्न राजनीतिक व्यक्ति, कलाकार, खेलाडीहरुले यो विषयमा प्रतिक्रिया दिएका छन् । उनीहरुले पाकिस्तानमा धार्मिक अल्पसंख्यकमाथि दमन हुने गरेको भन्दै यो घटना त्यसैको उपज भएको प्रतिक्रिया दिएका छन् । भारतीयहरुले सो झडपका दोषीमाथि कारबाही गर्न पाकिस्तानलाई आग्रह गरेका छन् । एकजना पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई सम्बोधन गरेरै सामाजिक सञ्जालमा सो पवित्र स्थलमा झडप हुँदा दुःख लागेको भन्दै दोषीमाथि कारबाही गर्न भनेका छन् ।
भारतमा यो विषय निकै उचालिँदा पाकिस्तानी अधिकारीहरुले यो सामान्य घटना भएको बताएका छन् । दुई समूहबीचको झडपलाई धार्मिक रंग दिन नहुने पाकिस्तानी अधिकारीहरुको दावी छ । पाकिस्तानी गृहमन्त्री शहजाद मलिकले केही मानिसहरुले विरोध प्रदर्शन गरेको र यो ठूलो मुद्दा नभएको बीबीसीलाई पक्रिया दिएका छन् । उनले भारतीयहरुले कश्मीर र नागरिकता कानूनको विषयलाई ढाकछोप गर्न यो विषयलाई उचालेको आरोपसमेत लगाएका छन् । उनले दुई व्यक्तिबीच भएको झगडालाई राजनीतिक रंग दिनु उपयुक्त नभएको भन्दै यो मामिलामा कसैलाई पनि कारबाही नभएको बताएका छन् ।
हालै भारतले पाकिस्तान, बांगलादेश र अफगानिस्तानका धार्मिक अल्पसंख्य (मुस्लिमबाहेक)लाई भारतीय नागरिकता दिनेगरी कानून बनाएको छ । सो कानूनको भारतमै व्यापक विरोध भइरहेको छ भने बांगलादेश र पाकिस्तानले पनि यो विषयप्रति कडा टिप्पणी गरेका छन् । यस्तै भारतले गएको अगस्ट ५ मा भारत प्रशासित जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्दै दुई केन्द्र शासित राज्य बनाएपछि पाकिस्तानले सो विषयलाई अन्तर्राष्ट्रियकरण गरेको छ । पाकिस्तानले भारतमा मुिस्लमहरुमाथि दमन भएको बताउने गरेको छ । यो विषयले भारत र पाकिस्तानबीच हाल सम्बन्धमा निकै चिसोपना आएको छ ।
Facebook Comment