नेकपा सचिवालय बैठक : केन्द्रीय समिति बैठक माघ १५ मा, सभामुखका विषयमा छलफल नै भएन

डिसी नेपाल
२० पुष २०७६ ११:११

काठमाडौं। सत्तारुढ दल नेकपाले माघ १५ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको छ। आइतबार बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समितिको बैठक माघ १५ गते बस्ने गरि मिति सार्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । यसअघि केन्द्रीय समितिकाे बैठक २३ पुसमा बाेलाउने निर्णय भएकाे थियाे। तर राष्ट्रियसभा निर्वाचनकाे तयारीमा जुट्नुपर्ने भन्दै बैठक माघ १५ सम्मका लागि सार्ने निर्णय भएकाे बताइएकाे छ।

केन्द्रीय समितिको बैठक र सभामुखको उम्मेद्वारका विषयमा छलफल गर्न आइतबार विहान सचिवालय बैठक बसेको थियो। तर सभामुखको उम्मेद्वारका विषयमा कुनै छलफल नभएको नेताहरुले जनाएका छन्। नेकपाभित्र सभामुखको उम्मेद्वार टुंगो लगाउने विषय निकै पेचिलो बन्दै गएको छ।

अध्यक्षद्वय केपी ओली र प्रचण्डले आफू अनुकुल व्यक्तिलाई सभामुख बनाउन चाहेका कारण संसद बैठकसमेत प्रभावित बन्दै आएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली संसदीय दलका उप नेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन्। अबको संसद पेचिलो बन्ने भन्दै ओलीले अनुभवी र आफू निकटलाई सभामुख बनाउन चाहन्छन्।

तर प्रचण्डले भने पूर्व सहमति अनुसार पूर्वमाओवादीबाट सभामुख बनाउनु पर्ने अडान लिएका छन्। पूर्व माओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ। त्यसो त उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि आफैं सभामुख बन्न पाउनुपर्ने अडानमा छिन्।

संविधानमा सभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले सभामुख आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *